संसद्

जनताकाे रगत पसिनाले जम्मा भएको करले किनेको गाडीमा खिया नलागोस् : सांसद असिम शाह

इकागज |
जेठ २४, २०८० बुधबार ११:४८ बजे

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले सरकारले किनेका साझाका बिजुली बस सञ्चालन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यो विषय उठाएका हुन् ।

‘बिजुली बस आइसक्यो । पार्किङ र चार्जिङ स्टेसन छैन,’ उनले भने, ‘बिजुली बस तयार छ गुड्ने रुट तयार छै न। सर्वसाधरणले दिनहुँ थोत्रो बसमा कोचिएर यात्रा गर्न बाध्य छन् तर हामी भने सफा सुविधा सम्पन्न बिजुली बसलाई थन्काएर राखिराखेका छौँ । कतै हामीले माल पाएर चाल नपाएको हो कि ? जनताले रगत पसिनाले जम्मा भएको करले किनेको गाडीमा खिया नलागोस भनि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’


सांसद शाहले सरकार हाम्रा पूर्वजहरू भन्दा पनि धेरै पछाडि भएको भन्दै व्यंग्यसमेत गरे । ‘नेपाल सरकारले साझा यातायातको समन्वयमा करिब ५७ करोडमा ३७ वटा विजुली बस खरिद गरिएको थियो,’ उनले भने, ‘जसमध्ये ३ वटा सञ्चालनमा आएको थियो भने ३४ वटा अझै सञ्चालनमा आउन नसकेर पार्किङमा थन्किरहेको छ । छोरो पाउने कहिले भोटो सिउने अहिले यो उखानले हाम्रा पूर्वजहरूको कुनै पनि विषयमा पूर्व तयारीलाई दर्शाउँछ । तर विडम्बना हामी हाम्रो पूर्वजहरू भन्दा पनि धेरै पछाडि परिरहेका छौँ । छोरो जन्मिसक्यो लगाउने भोटो छैन ।’ 
 


Author

थप समाचार
x