संसद्

जलन अपराधबारे समाचार बन्छ, तर सरकार र सदनसम्म पुग्दैन : सांसद कंसकार

इकागज |
जेठ ३२, २०८० बिहीबार १६:५३ बजे

काठमाडौँ– रास्वपा सांसद विन्दवासिनी कंसकारले देशमा धेरै शिक्षण अस्पताल खुले पनि ती अस्पतालमा जलन उपचारकक्षा नभएको बताएकी छन् । बिहीबार प्रतिनिधिसभामा बोल्दै कंसकारले मुलुकमा जलनको उपचार गर्ने अस्पताल सीमित भएको बताइन् । 

जलनका विषयले समाचार बने पनि त्यो विषय सरकार र सदनमा नउठ्ने उनको भनाइ छ । ‘जलन अपराधको घटनाले चर्चा पाउँछन्, समाचार बन्छन् । तर, दुर्भाग्यवस जलनको बारेमा सदन र सरकार सबै टाढा बस्छन् । नेपालमा सीमित जलन अस्पताल छन्,’ उनले भनिन्, ‘अनेकौँ टिचिङ अस्पताल खुलेका छन् । जहाँ चिचित्साशास्त्राको अध्ययन हुन्छ । तर, जलनको उपचारकक्ष त्यहाँ छैन ।’


सरकारलाई प्रश्न गर्दै उनले अगाडि सोधिन्, ‘यो किन ? अपूर्ण शिक्षा प्रदान गरेको हो कि गरिबले जलन भोग्ने भएकाले आर्थिक घाटा हुने बुझेर उपचार नदिएको हो ? ’

जलनका कारण अनेक भए पनि जलनपछि पीडितले भोग्नुपर्ने दुर्गती समान हुने उनको भनाइ छ । सरकार जलन अस्पताल निर्माणमा उदासीन रहेको उनको आरोप छ । 

कंसकार आफैँ ‘एसिड सर्भाइभर’ हुन् । उनीमाथि २०७२ सालमा एक भारतीय नागरिकले एसिड आक्रमण गरेका थिए । 
 


Author

थप समाचार
x