संसद्

सांसदमा ठाकुर गैरेकाे प्रश्न : असन्तुलन बजेट विनियोजन गरेर सरकारले के गर्न खोजेको हो ?

इकागज |
असार ४, २०८० सोमबार १५:३९ बजे

काठमाडौँ- नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले सरकारले भौतिक पूर्वाधारको बजेट विकास गर्ने नियतले नल्याएको बताएका छन् ।​ सोमबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद गैरेले सरकारले मुलुकको भौतिक पूर्वाधार विकास गर्ने नियतले बजेट नल्याएको बताएका हुन् ।

उनले सरकारले ७७ जिल्लामा समानुपातिक समावेशिताका आधारमा नभई शक्ति र पहुँचका आधारमा बजेट योजना छनोट गरी बजेट विनियोजन गरेको आरोप लगाए । उनले मुलुकभर भौतिक पूर्वाधार मन्त्रालयको आँखामा जिल्लामा संघीय सडकको विकास आयोजना निर्माण गर्नुपर्ने परिस्थिति नदेखेको बताए ।


सांसद गैरेले एउटा जिल्लामा एउटा संघीय सडक बन्न आवश्यक रहेको जिकिर गरे । उनले असन्तुलन बजेट विनियोजन गरेर सरकारले के गर्न खोजेको हो ? भन्दै प्रश्न गरे ।

असन्तुलन बजेट विनियोजनले देश विकास हुन नसक्ने दाबी गरे । उनले मन्त्रालयले ७७ जिल्लामा १० वा १५ प्रतिशतको सन्तुलन कायम गर्न नसक्नु राम्रो नभएको बताए ।

उनले अहिलेको बजेटले यो देश प्रकाश ज्वाला, प्रकाशशरण, शेरबहादुर र पुष्पकमल दाहालको देश भनेर नाम परिवर्तन गरिदिनु पर्ने खालको देखिएको बताए । उनले नेपाल राष्ट्रभन्दा पनि चार जना मन्त्रीको देश भनेर सरकारले घोषणा गरे हुने बताए । उनले सरकारले बजेट निर्माण, बजेट छनोट गर्ने नियत देश विकास गर्ने खालको नदेखिएको बताए ।


Author

थप समाचार
x