संसद्

सहरी विकास मन्त्रालयको रकम घटाइ एक रुपैयाँ कायम गरियोस् : बाँस्कोटा

इकागज |
असार ५, २०८० मंगलबार १६:५२ बजे

फाइल फोटो

काठमाडौँ - प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले ‘विनियोजन विधेयक, २०८० अन्तर्गत सहरी विकास मन्त्रालय शीर्षकको रकम घटाइ एक रुपैयाँ कायम गरियोस्’ भनी खर्च कटौती प्रस्ताव पेस गरेका छन् । सहरी पूर्वाधार निर्माणका लागि छुट्याइएको आगामी आर्थिक वर्षको बजेट पर्याप्त नरहेको र विगतका महत्वपूर्ण कार्यक्रममासमेत बजेट कटौती गरेको उल्लेख गर्दै प्रतिनिधिसभाको आजको बैठकमा उनले यस्तो प्रस्ताव पेस गरेका हुन् ।  

सहरी क्षेत्रमा आवश्यक पूर्वाधार तयार पार्नका लागि सरकारले पर्याप्त बजेट छुट्याउन नसकेको सांसद बाँस्कोटाको भनाइ छ । त्यस्तै, अघिल्लो सरकारले सुरु गरेका सहरी पूर्वाधारसँग सम्बन्धित धेरैवटा कार्यक्रमलाई चालू आर्थिक वर्षको बजेटले निरन्तरता दिन नसकेको उनले भने । 


“बसाइँसराइ, सेवा प्राप्ति र रोजगारीका लागि सहरमा जनसङ्ख्या बढिरहेको छ । तर बजेटले सहरका न्यूनतम पूर्वाधार निर्माणलाई पनि बेवास्ता गरेको देखिन्छ”, सांसद बाँस्कोटाले भने, “सहर हुनका लागि शुद्ध खानेपानी, ढलनिकास, सहज यातायात, फोहरमैला व्यवस्थापन, पार्किङ, व्यापार प्रदर्शनी केन्द्र, स्वास्थ्य र शिक्षा सेवालगायतका सुविधा चाहिने हो । त्यसका लागि यो बजेट पुग्ने देखिँदैन ।”

सरकारले सहरी विकास मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि रू ६६ अर्ब १७ करोड ५५ लाख बजेट छुट्याइएको छ । जबकि चालू आर्थिक वर्षका लागि सहरी विकास मन्त्रालयले रू ३७ अर्ब ७३ करोड बराबर मात्रै बजेट पाएको थियो ।
रासस


Author

थप समाचार
x