संसद्

बजेटमाथि छलफल : सात जना सांसदले राखे खर्च कटौतीको प्रस्ताव

इकागज |
असार ५, २०८० मंगलबार १७:५७ बजे

काठमाडौँ- विनियोजन विधेयक, २०८० अन्तर्गत अर्थ, सहरी विकास, खानेपानी मन्त्रालय र श्रम मन्त्रालयअन्तर्गतका विभिन्न शीर्षकमाथि सात जना सांसदले खर्च कटौतीको प्रस्ताव राखेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा उक्त मन्त्रालयमाथिको विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि सांसदहरू डा स्वर्णिम वाग्ले, प्रेम सुवाल, ठाकुरप्रसाद गैरे, प्रभु साह लगायतले खर्च कटौतीको प्रस्ताव राखेका हुन् । खर्च कटौतीको प्रस्ताव राख्दै सांसद डा स्वर्णिम वाग्लेले आर्थिक सुधारको नेतृत्व गर्न आवश्यक तयारी नभएको, आर्थिक सम्भावना भएका क्षेत्रमा उल्लेख्य कदम नचालिएको बताए ।


उनले बजेटका सिद्धान्त र प्राथमिकतामा तथा नीति तथा कार्यक्रममा उल्लेख भएका कार्यक्रम विनियोजन विधेयकसँग नमिलेको उल्लेख गरे । वाग्लेले आर्थिक सुशासन तथा स्वच्छ नियमनको जगमा गतिशील र प्रतिस्पर्धात्मक अर्थतन्त्र बनाउन विश्वसनीय आधार नभएको धारणा राखे ।

त्यस्तै सांसद ठाकुरप्रसाद गैरेले नागरिकको स्वस्थ खानेपानीको हक प्रत्याभूति गर्नका लागि महत्वपूर्ण आयोजनामा पर्याप्त बजेट विनियोजन गर्न नसकिएको बताए । उनले खानेपानीका नाममा उपत्यकामा बढी बजेट प्रदान गरिने र अन्य जिल्लामा पर्याप्त बजेट नहुने देखिएको धारणा राखे ।

त्यस्तै सांसद प्रेम सुवालले चालु आर्थिक वर्षमा लक्ष्यको तुलनामा करिब रु तीन खर्ब न्यून राजस्व उठेको अहिलेको अवस्था रहेको बताए । उनले राजस्व अनुसन्धानसँग सम्बन्धित मुद्दा फर्छ्याैटमा ढिलाइ भइरहेको यथार्थतालाई सरकारले स्वीकार्नुपर्ने र यससम्बन्धी मुद्दा फर्छ्याैटलाई तीव्रता दिनुपर्ने उल्लेख गरे ।

साेही क्रममा सांसद प्रभु साहले आगामी आर्थिक वर्षको बजेटमा रोजगारी सिर्जना गर्ने कुनै योजना तथा कार्यक्रम बजेटमा आउन नसकेकाले खर्च कटौतीको प्रस्ताव राखेको बताए । त्यस्तै सांसद जुलीकुमारी महतोले नेपाल भित्रिने रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा लगाउन नसकेको धारणा राखिन् ।


Author

थप समाचार
x