संसद्

सांसद अब्दुल खानको प्रश्न–बजेटबाट किन हटाइयो किसानको कार्ड, बीमालगायतका व्यवस्था ?

इकागज |
असार ६, २०८० बुधबार १६:१४ बजे

काठमाडौँ– जनमत पार्टीका सांसद अब्दुल खानले अघिल्लो सरकारले ल्याएका किसान कार्ड, बीमालगायतका किसानका सुविधा किन यस वर्षको बजेटबाट हटाइएको भन्दै सरकारलाई प्रश्न गरेका छन् ।  बुधबार प्रतिनिधिसभामा चलिरहेको मन्त्रालय विनियोजित बजेटको छलफलमा भाग लिँदै उनले यस्तो प्रश्न गरेका हुन् । 

‘कृषि मन्त्रीज्यूले योभन्दा अघिल्लो आर्थिक वर्षको योजनाहरू पनि काट्नुभएको रहेछ,’ उनले भने, ‘किसानहरूको बीमाको कुरा, किसानलाई राहत दिने कुरा, किसान कार्डको कुरा, सबै हटाइएको छ । किन हटाउनुपर्ने ? जनताको चाहना, जनतालाई दिनुपर्ने सुविधा त्यो कटौति गरेर तपाईँले के गर्न चाहनुभएको छ ?’


बजेट संविधान विपरीत बनेको उनले बताए ।

‘यो बजेट संविधान विपरीत बनेको रहेछ,’ उनले भने, ‘संविधानको धारा ५१ को ङ को ५ मा लेखिएको छ–कृषकका लागि कृषि सामग्री, कृषि उपजको उचित मूल्य र बजारमा पहुँचको व्यवस्था गरिनेछ । यहाँ गोलभेडाहरू फ्याँकिने गरेको छ । कृषकहरूको आत्मबल कमजोर भइसकेको छ ।’

कृषि उत्पादनमा सरकारले समर्थनमा मूल्य कायम गरेर प्रत्येक वस्तुहरू किन्नुपर्ने उनको तर्क छ ।
 


Author

थप समाचार
x