संसद्

आगामी तीन वर्षभित्र काठमाडौँ-निजगढ द्रुतमार्ग निर्माण कार्य सम्पन्न गरिनेछ : मन्त्री ज्वाला

इकागज |
असार १०, २०८० आइतबार १८:५६ बजे

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले आगामी तीन वर्ष भित्र काठमाडौँ–निजगढ द्रुतमार्गमा निर्माण कार्य सम्पन्न हुने बताएका छन् ।  आइतबार प्रतिनिधिसभा बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन्।

मन्त्री ज्वालाले सो द्रुतमार्गको निर्माणका लागि आगामी आर्थिक वर्षमा २२ अर्ब बजेट व्यवस्था गरिएको  बताए । उनले मन्त्रालयको बजेट चालु आर्थिक वर्षको भन्दा करिब ३७ अर्ब घटेकाेले सबै क्षेत्रको मागलाई सम्बोधन गर्न सकिने अवस्था नरहेको स्पष्टीकरण समेत दिए ।


मन्त्री ज्वालाले सो द्रुतमार्गको निर्माण कार्यलाई नेपाली सेनाले तीव्रताका साथ अघि बढाएको पनि संसदलाई जानकारी गराए। उनले भने, ‘भौतिक पूर्वाधार मन्त्रालयको बजेटको बाँडफाँट असन्तुलित भएको सम्बन्धमा पनि केही जिज्ञासाहरू उठेका छन । हाम्रो मन्त्रालयको बजेट सिलिङ चालु आर्थिक वर्षको भन्दा करिब ३७ अर्ब घटाइएकाले बजेट बनाउन र सन्तुलन कायम गर्न निकै कठिनाइ भएको यथार्थताबारे माननीयज्यूहरू जानकार हुनुहुन्छ । समय र बजेट कटौतीको चापले सोचेजस्तो सन्तुलन र सबैलाई सम्बोधन गर्न नसकेकोमा दुःख लागेको छ । सकेसम्म सन्तुलन कायम गर्न खोजिएको अनुरोध गर्न चाहन्छु । नेपाल सरकारको निर्णय अनुसार काठमाडाैँ–निजगढ द्रुतमार्गको निर्माण कार्य नेपाली सेनाद्वारा द्रुतगतिमा अघि बढिरहेको छ । अबको निर्धारित समयमा निर्माण कार्य सकाउनका लागि आगामी आर्थिक वर्षमा २२ अर्ब बजेट विनियोजन पनि गरिएको छ । २०८३ साल भित्र निर्माण कार्य सम्पन्न गरी यातायात सञ्चालन गरिने कुरा  सदनलाई  जानकारी गराउँछु ।’

मन्त्री ज्वालाले भौतिक पूर्वाधार तथा यातायात क्षेत्रको निर्माण कार्यलाई तोकिएकै समयमा सम्पन्न गराउन र गुणस्तरीय बनाउन आफू लागिपर्ने समेत बताए ।


Author

थप समाचार
x