संसद्

सरकारले ल्याएको बजेट राणाकालीन समयको जस्तो भयो : सांसद देवकोटा

इकागज |
असार १५, २०८० शुक्रबार १७:३५ बजे

काठमाडौँ– राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट राणाकालीन समयको जस्तो भएको टिप्पणी गरेका छन् । प्रदेशका मुख्यमन्त्रीहरूले अहिलेको बजेटलाई राणाकालमा आएको बजेटको रूपमा चित्रण गरेको उनको जिकिर छ । 

शुक्रबार राष्ट्रिय सभाको दोस्रो बैठकमा बोल्दै सांसद देवकोटाले ६० प्रतिशत कामको भार प्रदेश र स्थानीय तहलाई भए पनि सरकारले २३ प्रतिशत मात्रै बजेट विनियोजन गरेर संघीयताको भावना र मर्मविपरीत काम गरेको भन्दै आपत्ति जनाए। 


उनले साविकको गाविसले समेत २ लाखभन्दा कमको योजना नबनाउने भन्ने निर्णयलाई समेत लत्याएर सरकारले २ लाखभन्दा कमको आयोजनाहरूसहितको बजेट ल्याउनु आपत्तिजनक रहेको बताए । बजेट मन्त्री र नेतामुखी भएको आरोप लगाउँदै त्यसको जिम्मेवारी अर्थमन्त्रीले लिनुपर्ने उनको भनाइ छ । 

‘संघीयतामा आएपछिको पहिलो बजेटबारे प्रदेशका मुख्यमन्त्रीहरूले के जवाफ दिनुभएको थियो भने यो बजेट पञ्चायतकालीन जस्तो छ । त्यो बेला त्यसो भन्ने मुख्यमन्त्रीहरूलाई अहिले मैले सो बजेट कस्तो छ ? राणाकालीन जस्तो भनेर उत्तर दिनुभयो मलाई । मैले संघीयताको सन्दर्भमा खेलेको, बोलेको २० वर्ष भयो । यस अनुभवमा यस्तो खालको बजेट मैले कहिल्यै पनि देखेको छैन’ उनले भने ।

‘सम्माननीय अध्यक्ष महोदय । कामलाई चाहिँ दामले पछ्याउनुपर्छ । कामलाई चाहिँ वित्तीय स्रोत, साधनले पछ्याउनुपर्छ । कामलाई चाँही कर्मचारीले पछ्याउनु पर्छ । कामलाई कानुन लगायतले पछ्याउनु पर्छ भन्ने एउटा फन्डामेन्टलको बारेमा पनि मैले यो संसदमा पटकपटक भनेको छु । तर, नेपाल सरकारको विभिन्न अध्ययन प्रतिवेदन हेर्दाखेरि पनि ६० प्रतिभन्दा बढी कामको लोड चाहिँ प्रदेश र स्थानीय तहमा गएको छ । तर यो बजेट हेर्दाखेरि सम्माननीय अध्यक्ष महोदय करिब करिब २३ प्रतिशत मात्रै तल अनुदान, वित्तीय हस्तान्तणलगायत जम्मा २३ प्रतिशत मात्रै गएको छ । भनेपछि सशर्त अनुदानको त कुरै नगरौँ । टोटल प्रतिशतमा ६० प्रतिशत त सशर्त अनुदान छ । अर्को प्रदेशगत र पालिकागत रूपमा पनि सन्तुलन छैन ।’

उनले अगाडि भने, ‘बजेटमा एउटा सामान्य प्रिन्सिपल के हो भने यो भर्टिकल र होरिजेन्टल सन्तुलन हुनु पर्छ भन्ने हो । प्रतिनिधिसभामा यसमा बहुत बहस पनि भयो । न यसले भर्टिकल ब्यालेन्स गरेको छ । न होरिजेन्टल । र, यसमा कुनै नेताको निर्वाचन क्षेत्रमा मात्रै, कुनै मन्त्रीको निर्वाचन क्षेत्रमा मात्रै बजेट जानुको अर्थ के हो ? भनेपछि हामीले यसैका लागि संघीयता ल्याएको हो सम्माननीय सभामुख महोदय । हामीले यसैका लागि गणतन्त्र लिएर आएको हो ?’

सांसद देवकोटाले के सत्तारुढ दलका नेता र मन्त्रीहरूको निर्वाचन क्षेत्रका लागि बजेट छुट्टयाउन संघीयता र गणतन्त्र ल्याइएको हो भन्दै प्रश्न गरे ।


Author

थप समाचार
x