संसद्

३३ प्रतिशत मन्त्री महिला चाहिन्छ, एक/दुई जना नमुनाका रूपमा राखेर हुँदैन : उपाध्यक्ष अर्याल

इकागज |
असार १५, २०८० शुक्रबार १७:४६ बजे

काठमाडौँ– राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरूलाई पुरुषसरह अधिकार दिन नसकेसम्म महिलामाथि हुने हिंसा अन्त्य गर्न नसकिने टिप्पणी गरेकी छन् । शुक्रबार संसद् भवनमा आयोजित ‘संसदीय प्रभावकारितामा महिला माननीयहरूको भूमिका’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताइन् । 

महिलाका पार्टी बाहेकका साझा दायित्वहरू रहेकाले सबै एक भएर महिलाका हकहितका लागि लड्नुपर्ने उनको ठहर छ । उनले महिलालाई अधिकार दिलाउने नीति निर्माण गर्न आवश्यक रहेको उल्लेख गरिन् । सामाजिक आर्थिक रूपले आधारभूत तहको लैङ्गिक र सामाजिक, जातीय विभेदहरूको अन्त्य नगरेसम्म समुन्नत समाज निर्माण गर्न नसकिने उनको भनाइ छ । 


‘हामी महिलाको पार्टीगतभन्दा अरु साझा दायित्वहरू पनि छन् । यसमा हामी सबै मिलेर एकजुट भएर जनताका लागि काम गर्नुपर्छ, महिलाका अधिकारमा काम गर्नुपर्छ । हामीले अझैसम्म समान अधिकार हासिल गर्न सकेका छैनौँ । जबसम्म समान उपलब्धि हासिल गर्न सक्दैनौँ, महिलामाथि हुने हिंसा अन्त्य हुन सक्दैन,’ उनले भनिन् । 

उनले अगाडि भनिन्, ‘अब हाम्रो लडाइँ स्थानीय तहमा ३३ प्रतिशत वडा अध्यक्ष महिला चाहिन्छ र ३३ प्रतिशत कार्यकारी पद लिनुपर्छ । मन्त्री पनि ३३ प्रतिशत चाहिन्छ, एक दुई जना नमुना राखेर हुँदैन, ३३ प्रतिशत हुनुपर्छ, अझ हामी त ५१ प्रतिशत हुनुपर्ने हो ।’


Author

थप समाचार
x