संसद्

अर्थमन्त्रीको दाबी : मुलुकको आर्थिक वृद्धिदर र त्यसमा आमजनताको पहुँच पुग्ने गरी बजेट आएको छ

इकागज |
असार १५, २०८० शुक्रबार १७:५३ बजे

काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट मुलुकको आर्थिक वृद्धि गर्ने र त्यसमा आमनागरिकको पहुँच पुर्याउने गरी ल्याइएको दाबी गरेका छन् । शुक्रबार राष्ट्रिय सभाको दोस्रो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो दाबी गरेका हुन् । 

अर्थमन्त्री महतले बजेट संघीयताविरोधी नभएको पनि जिकिर गरे । धेरै आम्दानी गर्नेहरूलाई करको दायरामा ल्याउने काम बजेटमा गरिएको उल्लेख गर्दै उनले त्यसमा पनि असन्तुष्टि व्यक्त गर्नुको कुनै अर्थ नरहेको पटकपटक दोहोर्याए । शब्दजालको कुराभन्दा पनि आर्थिक वृद्धिको कुरालाई ध्यान दिएर सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको अर्थमन्त्री महतको भनाइ छ । 


‘संघीयताअनुसार हामी नगएको पनि होइन । समाजवादउन्मुख कुरा धेरै पटक आइसक्यो । खाली शब्दले मात्रै केही हुँदैन हेर्नुस् । मूल कुरो अब हामी शब्द जे पनि राख्न सक्छौँ । तर त्यसको मर्मको कुरा गर्ने हो भने आर्थिक वृद्धि गर्ने र आर्थिक वृद्धिको पहुँच आमनागरिकलाई पुर्याउने नै यो बजेटको लक्ष्य हो,’ उनले भने, ‘करको जुन हामीले व्यवस्था गरेका छौँ । यसले चाँहि जो धेरै आम्दानी गर्छ, उनीहरू करको दायरामा आइराखेका छैनन् । उनीहरूलाई करको दायरामा ल्याउने काम गरिएको छ । हामी कुरा गर्छौँ प्रोग्रेसिप हुनुपर्यो । तर, भन्दा उनीहरूलाई बेखुसी बनाउने बजेट ल्यायो । यसलाई ठीक ढंगले बुझिदिन म आग्रह गर्न चाहन्छु ।’ 

अर्थमन्त्री महतले आगामी आर्थिक वर्षमा राजस्व बढ्ने दाबी गरे राजस्व बढ्छ भन्ने अपेक्षाका साथ योजनाहरू बजेटमा उल्लेख गरिएको पनि उनले बताए । 
 


Author

थप समाचार
x