दलितमाथि विभेद गर्नेलाई कारबाहीको प्रक्रिया अघि बढाई जानकारी गराउन सरकारलाई निर्देशन
काठमाडौँ- राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले दलितमाथि विभेद गर्नेलाई कारबाहीको प्रक्रिया अघि बढाई जानकारी गराउन सरकारलाई निर्देशन दिएकी छिन् ।
सोमबार राष्ट्रिय सभाको बैठकको सुरुमै दलितमाथि हुने विभेद बढ्दै गएको भन्दै सांसदहरूले उठेर विरोध जनाएपछि बैठकको अध्यक्षता गरेकी राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले दलितमाथि विभेद गर्नेलाई छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएकी हुन् । त्यसअघि बैठकमा राष्ट्रिय सभा सदस्य राधेश्याम पासवानले सिराहाको भगवानपुरमा सामूहिक भोजमा दलितमाथि भएको विभेदका विषयमा पटकपटक कुरा राख्दा पनि दोषीलाई कारबाही हुन नसकेको भन्दै आपत्ति जनाए ।
त्यस्तै उनले दाङको तुलसीपुरमा दलित विद्यार्थीको जात थाहा पाएपछि घरबेटीले घर निकाला गरेको, सप्तरीमा अन्तरजातिय विवाह गर्दा मुद्दा चलाएको लगायतका घटनाले दलितमाथि अपमान भएको भन्दै उक्त घटनामा पनि दोषीलाई कारबाही हुन नसकेको गुनासो गरे ।
उनले दोषीलाई कारबाही नगर्ने र कानुनलाई पालना नगराउने प्रहरी र सिडिओलाई नै कारबाही गर्नुपर्ने माग गरे । यस विषयमा सांसदहरूले उठेर विरोध जनाएपछि राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले जवाफ दिन सरकारलाई रुलिङ समेत गरिन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया