संसद्

राष्ट्रियसभामा सोमबारबाट बजेटमाथि छलफल सुरु

इकागज |
असार १८, २०८० सोमबार १६:२७ बजे

काठमाडौँ- प्रतिनिधिसभाबाट पारित भएको विनियोजन विधेयक, २०८० माथि राष्ट्रियसभामा सोमबारबाट छलफल सुरु भएको छ ।

सोमबार बसेको बैठकमा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकमध्ये वन मन्त्रालय, महिला, बालबालिका मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय र उद्योग मन्त्रालयको बजेटमाथि छलफल भएको हो । बैठकमा उक्त मन्त्रालयमाथि विनियोजित बजेटमा सांसदहरू इन्दिरादेवी गौतम, भगवती न्यौपाने, सोनाम गेल्जेन शेर्पा, सुमित्रा बिसी लगायतले खर्च कटौतीका प्रस्ताव पेस गरेका थिए ।


खर्च कटौतीको प्रस्ताव पेस गर्दै सांसद इन्दिरादेवी गौतमले स्थानीय र प्रदेशस्तरबाट गर्न सकिने साना साना आयोजनाहरूलाई बजेट विनियोजन गरेर राष्ट्रिय महत्वका आयोजनाहरूलाई ध्यान नपुर्‍याएको बताइन् । उनले प्रत्येक वर्ष एउटै शीर्षकमा अध्ययन अनुसन्धानका लागि बजेट छुट्टाएपछि त्यसको प्रतिफल न्यून रहेकाले सरकारले यसतर्फ ध्यान दिनुपर्ने बताएका छिन् ।

त्यस्तै सांसद भगवती न्यौपानेले सरकारको बजेट र नीति तथा कार्यक्रमबीच तालमेल हुन नसकेको आरोप लगाइन् । उनले महिला, ज्येष्ठ नागरिक तथा बालबालिकाका क्षेत्रमा पर्याप्त बजेट छुट्याउन नसकेको बताइन् ।

त्यस्तै सांसद सोनाम गेल्जेन शेर्पाले पछि परेको क्षेत्र भन्दा पनि विभिन्न बहाना गर्दै पहुँचका भरमा बजेट वितरण गर्ने प्रवृत्ति यस वर्ष पनि देखिएको बताए । उनले अहिले स्थानीय तह र प्रदेश तहलाई गएको बजेट हेर्दा मुलुकमा साच्चिकै संघीयताको आवश्यकताको पुष्टि भएको जिकिर गरे ।

त्यस्तै खर्च कटौतीको प्रस्ताव राख्दै सांसद सुमित्रा बिसीले साधारण न्यून खर्च गर्दै विकास खर्च बढाउनुपर्नेमा त्यसको ठीक विपरीत भएकाले खर्च कटौतीको प्रस्ताव राखेको बताइन् । उनले बजेट छरेर कुनै आयोजना पूरा नगर्नु भन्दा कुनै विशेष आयोजनालाई सम्पन्न गर्ने गरि योजना बनाउनुपर्नेमा जोड दिइन् । 


Author

थप समाचार
x