विश्वविद्यालय छाता ऐनसम्बन्धी विधेयक प्रक्रियामा छ : मन्त्री राई
फाइल फाेटाे
काठमाडाैँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विश्वविद्यालय छाता ऐनसम्बन्धी विधेयक प्रक्रियामा रहेको बताएका छन् ।
बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री राईले विश्वविद्यालय छाता ऐनसम्बन्धी विधेयक प्रक्रियामा रहेको र साे विधेयक अर्थ मन्त्रालयबाट शिक्षा मन्त्रालयमा आएपछि अगाडि बढ्ने बताएका हुन् ।
मन्त्री राईले सोही विधेयकमा एकीकृत सेवा आयोगसम्बन्धी व्यवस्थालाई समाहित गरिने कुरा उल्लेख गरेका छन् । उनले गेटा मेडिकल कलेजलाई विश्वविद्यालयका रूपमा अगाडि बढाउने सरकारको अठोट रहेको स्पष्ट पारे।
उनले भने, ‘विश्वविद्यालय छाता ऐनसम्बन्धी विधेयक प्रक्रियामा रहेको छ। उक्त विधेयक अर्थ मन्त्रालयबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आएपछि क्रमशः अगाडि बढ्छ । यसमा एकीकृत सेवा आयोगसम्बन्धी व्यवस्थालाई समाहित गरिनेछ । गेटा मेडिकल कलेजको बारेमा स्वास्थ्य मन्त्रीज्यूले चाँडै नै यही आर्थिक वर्षमा मेडिकल कलेज सुरु हुन्छ भनेर जवाफ दिइ सक्नुभएको छ ।'
गेटा मेडिकल कलेजलाई विश्वविद्यालयको रुपमा अगाडि बढाउने सरकारको अठोट रहेको र सो सम्बन्धी विधेयकको तयारी भइरहेको समेत मन्त्री राईले जानकारी गराएका छन् ।
मन्त्री राईले ४० हजार राहत शिक्षकहरूको शिक्षण पेसाको स्थायित्वको निम्ति प्रस्तावित विद्यालय शिक्षा ऐनमा उल्लेख गरिएको कुरा चाँडै नै सदनमा आउने कुराकाे जिकिर गरेका छन् ।
साथै, उनले ४० हजार राहत शिक्षकहरूको शिक्षण पेचाको स्थायित्वको सम्बन्धमा प्रस्तावित विद्यालय शिक्षा ऐनमा उल्लेख गरिएको जानकारी गराए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया