संसद्

कैलालीमा रोपाइँ सक्किसक्यो, तर किसानले अझै मल पाएका छैनन् : सांसद चौधरी

इकागज |
असार ३१, २०८० आइतबार १५:४१ बजे

काठमाडौँ– प्रतिनिधिसभा सांसद गंगाराम चौधरीले कैलालीमा रोपाइँ सकिँदासम्म पनि किसानहरूले रासायनिक मल नपाएको गुनासो गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठककाे शून्य समयमा बोल्दै चौधरीले यस्ताे गुनासो गरेका छन् । 

‘कैलाली जिल्लामा बर्खे धानबाली रोपाइँ सम्पन्न भइसक्यो । किसानहरू हर्दवा खाइसके । हर्दवा शब्द किसानको पीडा र भाषा बुझ्नेले मात्र बुझ्दछ । अरुले बुझ्दैनन्,’ उनले भने, ‘रोपाइँ सकिँदा पनि रासायनिक मलखाद उपलब्ध गराउन नसक्नु कतिको लज्जास्पद कुरा हो ? किसानहरूलाई हामीले के जवाफ दिने ?’


मलखादसँगै बर्खामा बाढीको समस्या पनि सुरु भएको उनले बताए । बाढीले बर्सेनि किसानको धानबालीमा ठूलो क्षति पुर्याउने भन्दै त्यसतर्फ उनले सरकारको ध्यानाकर्षण गराए ।


Author

थप समाचार
x