शिक्षा क्षेत्रमा कानुनको रिक्तता रहनु आपत्तिजनक : मन्त्री राई
काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षा क्षेत्रको ऐन कानुनलाई समायानुकुल बनाउन आफू प्रतिवद्ध रहेको बताएका छन् ।
सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठकमा मन्त्री राईले कानुनको रिक्तता रहनु आपत्तिजनक हुने भएकाले शिक्षा क्षेत्रको ऐन कानूनलाई समायानुकुल बनाउन आफु प्रतिवद्ध रहेको बताएका हुन् ।
उनले विधयेकको परामर्श र प्रक्रियमा हुने ढिलाईलाई अन्त्य गर्न मन्त्रिपरिषद्मा समेत छलफल भएको जानकारी दिए । संघीय शिक्षा ऐन अव छिटै अघि बढ्ने जानकारी दिदै मन्त्री राईले ऐनको मस्यौदा अहिले मन्त्रिपरिषद्को विषयगत समितिमा विचाराधीन रहेको बताए ।
उनले शिक्षकको दरबन्दी सिर्जना गरेर पूर्ति नगरेसम्म गुणस्तर शिक्षाको कुरा गर्नु सान्दर्भिक नहुने धारणा राखे । शिक्षा क्षेत्रमा बजेट पर्याप्त विनियोजन हुन नसक्दा आवश्यकता अनुसारको कार्यक्रम तर्जुमा गर्न कठिन भइरहेको उनको भनाइ छ ।
बैठकमा समितिका सदस्यहरुले नेपालको शिक्षा प्रणालीलाई व्यवहारिक बनाउनुपर्नेमा जोड दिएका थिए । समिति सदस्य चन्द्र भण्डारीले नेपालको पाठ्यक्रमले व्यवहारिक ज्ञान दिन नसकेको बताए ।
त्यस्तै समिति सदस्य सुमना श्रेष्ठले देशका सबै स्थानको सामुदायिक शिक्षालाई निजी भन्दा मागि उठाउने योजना बनाउनुपर्नेमा जोड दिइन् ।
बैठकमा शिक्षा मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले देशभर अहिले ५३ हजार भन्दा शिक्षक अपुग देखिएको बताए । उनले उच्चशिक्षाका लागि विदेश जाने विद्यार्थी वृद्धि भएको अवस्थामा उच्चशिक्षाको क्यालेण्डर बनाएर नै स्वदेशी शिक्षामा आकर्षित गर्ने तयारी भइरहेको जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया