संसद्

सुन तस्करी प्रकरण: उच्चस्तरीय छानबिन समिति गठन गर्न लेखा समितिको निर्देशन

इकागज |
साउन १४, २०८० आइतबार १६:१९ बजे

फाइल फोटो

काठमाडौँ - संसदीय समितिले सुन तस्करी प्रकरणमा तत्काल उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । 

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकले हालै भन्सार कार्यालय बाहिरबाट बरामद भएको सुन प्रकरणका विषयमा छानबिन गर्नका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।


समितिका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणमा गैरकानुनी रुपमा भित्रिएको सुनको छानबिन गर्न÷गराउन उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउने निर्णय गरेको जानकारी दिए । उनले सुन प्रकरणका बिषयमा सदनमा विरोध भइरहेको अवस्थामा यसमा मातहतका मन्त्रीहरूले जवाफ दिने वातावरण बनाउनुपर्ने धारणा राखे । 

बैठकमा समिति सदस्यहरूले सुन तस्करीमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका थिए । समिति सदस्य योगेश भट्टराईले सुन तस्करी प्रकरणमा नियमित छानबिन समिति गठन गरेर निष्कर्ष निस्कन नसक्ने भन्दै स्वतन्त्र रुपमा छानबिन गर्ने गरि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताए । 

त्यस्तै समिति सदस्य रामकृष्ण यादवले सुन प्रकरणमा मुलुकको बदनाम भएको भन्दै समितिले अर्थमन्त्री र गृहमन्त्रीलाई बोलाएर स्पष्टीकरण लिनुपर्ने बताए । 

त्यस्तै समिति सदस्यहरूले सुन तस्करीको घटनाले नेपाल तस्कर र बिचौलियाहरूको लागि ट्रान्जिट प्वाइन्ट देखिएकाले सरकारले गम्भीर भएर छानबिन गर्नुपर्ने धारणा राखेका थिए । 


Author

थप समाचार
x