संसद्

सभापति चयनको प्रक्रिया अघि नबढेकाे भन्दै एमालेद्वारा सार्वजनिक लेखा समिति बैठक बहिष्कार

इकागज |
साउन ३२, २०८० बिहीबार १५:५ बजे

काठमाडौँ- नेकपा एमालेले प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिकाे बैठक बहिष्कार गरेको छ । समितिको सभापति चयनको प्रक्रिया अघि नबढेको भन्दै एमालेका सांसदहरूले बिहीबार समितिको बैठक बरिष्कार गरेका हुन् ।

यसअघिको बैठकमा एमालेका सांसदहरूले सभापति चयन नभएसम्म बैठकमा उपस्थित नहुने जानकारी गराएका थिए । एमालेका सांसदहरूले बैठक बहिष्कार गरेपछि कोरम नपुगेर बैठक स्थगित भएको छ । बैठक स्थगित भएपछि समितिको अध्यक्षता गर्दै आएका ज्येष्ठ सदस्य कांग्रेस सांसद अर्जुननरसिंह केसीले विभिन्न कारण देखाई समितिहरूलाई बन्धक बनाउने कुरा लोकतन्त्रको मूल्यमान्यता विपरीत भएको बताए ।


उनले यस विषयमा सभामुखले पहलकदमी भूमिका प्रस्तुत गर्नुपर्ने जिकिर गरे । केसीले तीन दलसँग मात्रै नभइ संसदमा भएका दलहरूसँग सभामुखले छलफल गर्नुपर्ने बताए ।

त्यस्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले समितिको नेतृत्व चयन र सदन अवरुद्ध गर्दा पनि सभामुखले आफूहरूसँग छलफल नगरेको गुनासो गरे ।

यता एमाले सांसद अच्युतप्रसाद मैनालीले संसदीय समितिलाई प्रभावकारी रूपमा अघि बढाउनका लागि सभापति चयन गर्नुपर्ने बताए । उनले समितिमा महत्वपूर्ण छलफल गर्नुपर्ने र यसका लागि नेतृत्व निर्माण गर्नुपर्नेमा एमालेले पटक पटक जोड रहे पनि ढिलो हुँदै गएकाले समिति बहिष्कार गर्नुपरेको जिकिर गरे ।

मैनालीले समितिको नेतृत्व चयन नभएसम्म एमाले लेखा समितिमा सहभागी नहुने पूर्ववत् अडान यथावत् नै रहेको बताए ।


Author

थप समाचार
x