संसद्

नेपाल विश्वकै सुन्दर मुलुक हुनसक्छ : सभामुख घिमिरे

इकागज |
भदौ १५, २०८० शुक्रबार १७:८ बजे

काठमाडौँ- प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाल विश्वकै सुन्दर मुलुकहरूको सूचीमा सबैभन्दा अगाडि हुने सम्भावना बोकेको देश भएको बताएका छन् ।

सभामुख घिमिरेले नेपाललाई विश्वकै सुन्दर देशको अग्रणी बनाउन त्यसै अनुसारको अध्ययन, विश्लेषणको जरुरी रहेको पनि बताए । शुक्रबार ललितपुरस्थित महालक्ष्मी नगरपालिकाले लाँकुरी भञ्ज्याङमा स्थापना गरेको मनमोहन मेमोरियल टावर परिसरमा लालीगुराँस फूलको बिरुवा रोपेपछि उनले सञ्चारकर्मीमाझ नेपाल सुन्दर देश भए पनि त्यसलाई अगाडि बढाउने गरी अध्ययन र अनुसन्धानको पाटोमा काम हुन नसकेको उल्लेख गरे ।


सभामुख घिमिरेले लाँकुरी भञ्ज्याङ क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने अभियान चलाएको भन्दै महालक्ष्मी नगरपालिकाप्रति खुसी व्यक्त गर्दै यसले मुलुकलाई समृद्ध बनाउन र पर्यटनमार्फत समृद्धि योजना बनाउन पनि मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरे । उनले नेपालप्रतिको आकर्षण, आम्दानी बढाउन सो क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले महालक्ष्मी महानगरपालिकाले सो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने अभियान चलाएको बताए ।

महालक्ष्मी नगरपालिकाले काठमाडौँ उपत्यकाको नजिकै रहेको लाँकुरी भञ्ज्याङ क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने गरी त्यस क्षेत्रमा गणेशमान सिंह स्मृति पार्क बनाइएको छ । अहिले मनमोहन मेमोरियल टावर पनि निर्माण गरिएको छ । नगरपालिकामा मेयर हरिगोविन्द श्रेष्ठले सो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने अभियान अन्तर्गत आगामी माघमा ‘लाँकुरी भञ्ज्याङ वर्ष’ मनाउने योजना पनि तय गरिएको बताए ।

उनका अनुसार सो नगरपालिकाले त्यहाँको विकासका लागि राष्ट्रिय विभूतिहरूको स्मृति पार्कहरूलाई निर्माण गर्दै लैजानेछ ।

यसले काठमाडौँ उपत्यका र यस क्षेत्रको पर्यटन र पर्यावरणमा मात्रै योगदान नदिई नेपालको समृद्धिमात्रै महत्वपूर्ण योगदान पुर्याउने महालक्ष्मी नगरपालिकाको बुझाइ छ । 

 


Author

थप समाचार
x