संसद्

विद्यमान ऐन नियममा सुधारसहितको कार्ययोजना बनाउन लेखा समितिको निर्देशन

इकागज |
भदौ १९, २०८० मंगलबार १८:४५ बजे

काठमाडाैँ– सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले बेरुजू फर्छ्याैट, विद्यमान ऐन नियममा सुधार र प्रतिबद्धतासहितको कार्ययोजना बनाउन सचिवालयलाई निर्देशन दिएका  छन् । 

मंगलबार बसेको प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै सभापति पोखरेलले यस्तो निर्देशन दिएका हुन् ।


सभापति पोखरेलले सचिवालयले कार्ययोजना बनाउँदा समितिमा उपसमिति निर्माण गर्दा नीतिको आधारमा निर्माण गर्ने गरी बनाउन आग्रह गरे। उनले उपसमितिमा तत्काल रिटायर मन्त्री, लगातार एउटै उपसमितिमा बसेर काम गर्ने सदस्यहरू र पेसा व्यवसाय मिल्ने सांसदहरूलाई नराख्न आग्रह गरेका छन् ।

सभापति पोखरेलले समितिका २७ जना सांसदहरूले काममा गति दिनसके मात्रै समितिको काम प्रभावकारी हुनसक्ने बताए । उनले समितिले गर्ने निर्णयहरूमा सर्वसहमति गर्ने प्रयास गर्ने बताए ।

सभापति पोखरेलले समितिले तत्काल बेरुजू,महालेखा र लेखा उत्तरदायिहरूको बीचमा अन्तरसंवाद र लेखा समितिका सदस्यहरू र सचिवालयको क्षमता अभिवृद्धि गर्ने अनिवार्य आवश्यकता रहेको बताए ।

' लेखा समितिका सदस्यहरू र सचिवालयको अध्ययन र क्षमता अभिवृद्धि अनिवार्य छ । यी तीन कामलाई सबैभन्दा पहिला अगाडि बढायौँ । आजको बैठकले तीन वटा कामका कार्य योजना बनाउने जिम्मा सचिवालयलाई दिन्छु, ' उनले भने, ' उपसमिति निर्माण गर्दा नीतिको आधारमा निर्माण गरौँ । त्यसको लागि तत्काल रिटायर मन्त्री, लगातार एउटै उपसमितिमा बसेर आउने सदस्यहरू र पेसा र व्यवसाय मिल्ने साथीहरू त्यही पेसासँग जोडिएको मन्त्रालयमा उहाँहरूलाई नपारौँ ।’

साथै, सभापति पोखरेलले समितिले तत्काल बेरुजू लगायतका विषयमा उपसमितिहरू बनाएर काम अगाडि बढाउने बताए । उनले समितिमा पर्ने उजुरीहरूको समितिमा छलफल हुने तर अध्ययन अनुसन्धान नगर्दा परिणाम आउन नसक्ने अवस्था रहेको भन्दै आगामी दिनमा समिति सदस्यहरूले अध्ययन गर्न आवश्यक रहेको बताए ।


Author

थप समाचार
x