संसद्

पार्टीका सहमहामन्त्री यादवमाथि आक्रमण गर्नेमाथि कडा कारबाही हुनुपर्छ : कांग्रेस

इकागज |
भदौ २१, २०८० बिहीबार १५:२१ बजे

काठमाडाैँ– सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि साङ्घातिक आक्रमण गर्ने माथि कारबाही गर्न सरकारसँग माग गरेको छ ।

बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सो साङ्घातिक आक्रमणमा संलग्नमाथि कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेका हुन् । उनले सो घटनाबारे तत्काल संसदलाई जानकारी गराउन पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सचेत गराए ।


पार्टीका सहमहामन्त्री यादवको ज्यान मार्ने उद्देश्यले सो साङ्घातिक आक्रमण भएको जिकिर गर्दै प्रमुख सचेतक लेखकले त्यस घटनाप्रति निन्दा र भर्त्सना गर्दै त्यसको सत्य तथ्य विस्तृत रूपमा सरकारले छानबिन गर्नुपर्ने समेत बताए ।

प्रमुख सचेतक लेखकले  भने, ‘यो आक्रमण हेर्दा खेरी प्रष्ट देखिन्छ–आक्रमणकारीको उद्देश्य ज्यान मार्ने नै उद्देश्य हो । र, यो ज्यान मार्न कै लागि गरिएको प्रहार अत्यन्तै क्रुरतापूर्वक, साङ्घातिक र बर्बर प्रहार भएको छ । यसबाट उहाँको ज्यान बाँचेको स्थिति छ ।'

प्रमुख सचेतक लेखकले भने, 'नेपाल सरकारलाई यसमा पक्राउ परेका दोषीलगायत अरु पनि मानिसहरूको कहीँ कतै संलग्नता छ भने सत्य तथ्य छानबिन गरी कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरियोस् भन्ने म नेपाली कांग्रेस र संसदीय दलको तर्फबाट नेपाल सरकारसँग माग गर्न चाहन्छु ।'

प्रमुख सचेतक लेखकले सरकारले सो घटनाबारे प्रतिनिधि सभाको अर्को बैठकमा नै संसदलाई जानकारी गराउनुपर्ने बताए ।


Author

थप समाचार
x