संसद्

विद्यालय शिक्षा विधेयकमा सिके राउतको टिप्पणी : बिहेमा दुलाहा नै भागे जस्तो भयाे

इकागज |
असोज १९, २०८० शुक्रबार १२:५८ बजे

काठमाडौँ–जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सिके राउतले सरकारले ल्याएको विद्यालय शिक्षा विधेयक बिहेमा दुलाह नै भागेको जस्तो खालको भएको भन्दै टिप्पणी गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । 

‘विद्यालय शिक्षा विधेयक मैले पढेँ । तर कस्तो लाग्यो भने बिहेको तामझाम छ । तर बिहेमा दुलाह नै भागिरहेको अवस्था जस्तो अनुभूति भयो,’ उनले भने, ‘यो शिक्षा विधेयक जसको लागि ल्याइएको हो ? जे प्रयोजनको लागि ल्याइएको हो । त्यो नै स्पष्ट नभएको । त्यसको नै पर्याप्त छलफल नभएको, त्यसलाई पर्याप्त सम्बोधन नगरेको जस्तो यहाँ देखिन्छ ।’


विद्यार्थीहरूको कुरा विधेयकमा उल्लेख नभएको भन्दै उनले यसबारे प्रश्न गरे । ‘शिक्षकहरूले तलब र सेवा सुविधा वृद्धि गर्नका लागि पनि आन्दोलन गरे,’ उनले भने, ‘ त्यसको लागि सम्झौता गरे । निजि विद्यालयहरूले पनि आन्दोलन गरे । तर गरिब विद्यार्थीहरूको लागि कसले बोल्दिने ? त्यो चै यहाँ विधेयकमा उल्लेख छैन ।’

उनले विद्यालय शिक्षा विधेयकमा विद्यार्थी, अभिभावकका कुरा नसमेटिएको भन्दै उनीहरूका कुरा समेट्न पनि अनुरोध गरे । ‘विद्यार्थीले कस्तो शिक्षा पाउने?,’ उनले भने, ‘कस्तो गुणस्तरको शिक्षा पाउने ?, त्यसमा पहुँच छ कि छैन ? सहजता कस्तो हुने ? त्यो कुराहरू विधेयकले सम्बोधन गर्नुपर्ने जस्तो लाग्छ । यता ध्यान दिन अनुरोध गदर्छु ।’ 

विधेक संघीयता विरोधी रहेको पनि उनले बताए  । माध्यमिक शिक्षा बोर्ड भनेर संघमा राखिनु, जिल्लामा शिक्षा कार्यालय ल्याउने सबै संघीयता विरोधी काम भएको उनले बताए । संघले शिक्षामा नियन्त्रण गर्न खोजेको भएकाले यो व्यवस्था खारेजी गर्नुपर्ने उनले बताए । 
 


Author

थप समाचार
x