संसद्

सरकारको नीतिका कारण व्यवसायीमा आतंक सिर्जना भयो : सांसद घिमिरे

इकागज |
असोज २१, २०८० आइतबार १४:५४ बजे

काठमाडौँ– नेपाली कांग्रेसका सांसद श्याम घिमिरेले सरकारको नीतिका कारण व्यवसायीमा आतंक सिर्जना भएको टिप्पणी गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद घिमिरेले सरकारले सेवा क्षेत्रको सम्भावनाहरूमा डर, त्रास देखाएको बताए । 

उनले सेवा क्षेत्रमा सरकारले ढुलमुले नीति र निषेधको नीति अवलम्वन गरेका कारण व्यवसायीहरूमा आतंक सिर्जना भएको उल्लेख गरे । उनले निजी र सरकारी क्षेत्रको बीचमा पर्खाल खडा गरेर निजी क्षेत्रलाई निषेध गर्ने कोसिस गरिएको बताए । हरेक ठाउँमा सरकारी सिन्डिकेट लागू गरिएको बताए । उनले सरकारी नीतिले निजी क्षेत्रलाई खेद्ने काम गरेको उनको भनाइ छ । 


‘नेपालको समाजवादी संविधानले सेवा क्षेत्रको सबै सम्भावनाहरूमा डर, त्रास, ढुलमुले नीति र निषेधको नीति अवलम्वन गर्दै आएको छ । जस्तो नेपालको सरकारले मनसाय पत्र दिएर सम्बन्धन स्वीकृति नदिएका प्रस्तावित मेडिकल कलेजको संख्या १४, इन्जिनियरिङको संख्या ४५, स्वास्थ्य, शिक्षातर्फ ५०, कृषि, वन र भेटनरीतर्फ ७० वटा कलेजहरू छन् । ६७ वटा चलिरहेका नर्सिङ कलेजहरू ३ वर्षदेखि बन्द गरिएका छन्,’ उनले भने, ‘यसबाट राज्यले रोजगारीको अवसर, राजश्व र सेवा क्षेत्रमा कति नोक्सानी व्यहोरेको छ, यसको चिन्ता सरकारलाई भएको देखिँदैन । भएका निजी विद्यालयहरू कहिले बन्द गर्नेजस्ता बहसहरू सरकारी स्तरबाट चलाएर थप लगानीलाई निरुत्साहित गर्ने, व्यवसायीलाई आतंक सिर्जना गर्ने काम गरिन्छ । निजी क्षेत्र र सरकारी क्षेत्रको बीचमा यति ठूलो पर्खाल खडा गरिएको छ कि निजी क्षेत्रलाई सम्भव भएसम्म निषेध गर्ने कोसिस गरिएको छ ।’

उनले अगाडि भने, ‘हरेक ठाउँमा सरकारी सिन्डिकेट लागू गरिएको छ । विद्यार्थीको शुल्कमा, चिकित्सकको दस्तुरमा हरेक ठाउँको सिन्डिकेटले व्यवसायको गुणस्तरीय प्रतिष्पर्धालाई निषेध गरिएको छ । यसबाट पढ्न विद्यार्थी एवं काम गर्न सबै मानिस विदेशिन बाध्य छन् । धमाधम प्रस्तुत हुन थालेका विधेयकहरू, जस्तोः शिक्षा विधेयक, विद्युत विधेयक जस्ता विधेयकहरूमा पनि यसको प्रतिछाया देखिन थालेको छ । यसले क्रमशः निजी क्षेत्रलाई निरुत्साहित मात्रै होइन, यहाँबाट खेद्ने काम गर्ने निश्चित छ ।’

उनले देशको आर्थिक विकासका लागि निजी क्षेत्र प्रवेश गर्न नचाहने स्थानमा मात्र सरकारी क्षेत्रलाई प्रवेश गराउनुपर्ने बताए । कुशासन र भ्रष्टाचारको समूल नष्ट गर्नुपर्ने उनले धारणा राखे ।


Author

थप समाचार
x