प्रतिनिधिसभा बैठक : उपभोक्ता बजार नियमन र अनुगमनको माग
काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले चाडबाडको समयमा भएको मूल्यवृद्धि, कालोबजारी, कृत्रिम अभाव, न्यून गुणस्तरलगायतका विषय सम्बोधन गर्नका लागि संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।
उपभोक्ता बजार अनुगमन, सवारी टिकटको सहज व्यवस्थापन, दैनिक उपभोग्य वस्तुको पर्याप्त आपूर्ति, शान्ति सुरक्षा कायम गर्नेलगायतका विषयमा सांसदहरूले बोलेका हुन् ।
त्यस्तै, प्यालेस्टाइनको लडाकू समूह हमासले इजरायलमा गरेको आक्रमणमा परेका नेपालीको उद्धार र स्वास्थ्योपचारमा पनि गम्भीर हुन उनीहरूले सरकारको ध्यानाकर्षण गराए । सांसद बिजुला रायमाझीले आम उपभोक्ताले चर्को महँगी, कालोबजारी र गुणस्तरहीन वस्तुको समस्या भोग्नु परेको, यातायात सुविधा सहज हुन नसकेको, सडक छेउका होटलमा अखाद्य सामग्री बिक्री वितरण भइरहेको विषय उठाइन् ।
सांसद बिनिताकुमारी सिंहले खाद्यजन्य वस्तुमा प्रयोग हुने हानिकारक विषादी भइरहेको विषय उठाइन् । फलफूल, तरकारीमा र खाद्य सामग्रीमा विषादी परीक्षण बढाउनुपर्ने उनको भनाइ छ । सांसद शान्ति विकले चरम मूल्यवृद्धि जनताले धान्न नसक्ने अवस्थामा पुगेको बताइन् । आर्थिक मन्दीका कारण बजार माग घटेको तर मूल्यवृद्धि भएको उनको भनाइ छ । त्यस्तै, अहिले किसानले दूधको मूल्य नपाएको पनि उनले संसदमा उठाइन् ।
सांसद शान्ति श्रेष्ठले दसैँ, तिहारलगायत चाडबाड मान्न घर जानका लागि महँगो सवारी टिकट काट्नुपर्ने अवस्थाको अन्त्य गरिनुपर्ने माग गरिन् । त्यस्तै, धेरै यात्रु बोक्ने सवारी साधनलाई कारबाही र सडकको अवस्था सुधार गर्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गरिन् ।
सांसद सीता मिजारले बजारमा कृत्रिम अभाव, कालोबजारी, एकाधिकार, सवारी टिकट अभावको समस्यालगायतका विषयमा सरकारको ध्यानाकर्षण गराइन् । सांसद बिना लामाले देशका दुर्गम स्थानमा खाद्य आपूर्ति सहज बनाउन संसदमार्फत् सरकारको ध्यानाकर्षण गरिन् ।
सांसद सूर्यमान तामाङ दोङले चाडपर्वका बेला नागरिक झन् सास्तीमा परेको बताए । ठेकेदारको कमजोरीले देशका विभिन्न स्थानमा सडक अलपत्र परेको र निर्माण व्यवसायीले पाउनुपर्ने भुक्तानी पाउन नसकेको विषय पनि उनले संसदमा उठाए ।
सांसद शिशिर खनालले इजरायलमा भएको आक्रमण र त्यहाँ रहेको नेपालीको अवस्थाको विषय उठाउँदै तत्काल अवस्थाको यकिन जानकारी लिनुपर्ने र उद्धार थाल्नुपर्ने बताए । सांसद हितराज पाण्डेले पनि इजरायलमा भइरहेको युद्धमा परी घाइते भएका नेपालीको उद्धारमा राज्यले गम्भीरता देखाउनुपर्ने बताए ।
सांसद ज्ञानबहादुर शाहीले विदेशमा अलपत्र परेका नागरिकलाई उद्धार गर्नका लागि सरकारले गम्भीर पहल गर्नुपर्ने बताए । सांसद ज्ञानु बस्नेत सुवेदीले पनि इजरायलमा रहेका नेपालीको उद्धारका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराइन् । सांसद बिना जैसवालले मिटरब्याज पीडितको समस्या अझै समाधान नभएको विषय संसदमा उठाइन् । सरकारले मिटरब्याज पीडितका समस्या समाधान सम्बन्धमा अध्यादेश ल्याएको भए पनि त्यो पीडितका पक्षमा देखिन नसकेको उनको भनाइ छ ।
सांसद शेरबहादुर कुँवरले गत मङ्गलबार बझाङ केन्द्रविन्दु भएर छ दशमलव तीन रेक्टरस्केलको भूकम्पबाट पीडित परिवारलाई राहत तथा पुनःस्थापनाको काम तत्काल अघि बढाउन सरकारको ध्यानाकर्षण गरे ।
सांसद शोभा ज्ञवालीले संसद्को प्रभावकारिता देखिन नसकेको बताइन् । संसदमा सांसदले प्रश्न गर्ने र मन्त्रीले जवाफ दिने तर संसदमा उठेका विषयको प्रभावकारिता देखिन नसकेको उनको भनाइ छ । त्यस्तै, सदनमा पटक–पटक एउटै विषय दोहोर्याउनु परेको अवस्था रहेको ज्ञवालीले उल्लेख गरिन् ।
सांसद सराज अहमत फारुकीले नेपालको जनशक्ति विदेशिने क्रम बढेको बताउनुहुँदै स्वदेशमै रोजगारीको सिर्जना गर्न सरकारको ध्यानाकर्षण गरे । त्यस्तै, पछिल्लो समय विभिन्न धार्मिक हिंसा बढेको विषयमा सरकार गम्भीर हुनुपर्ने बताए । सांसद शङ्कर भण्डारीले आर्थिक सुशासनको विषय उठाए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बेनामे उजुरी पर्ने गरेका कारण विकासको प्रक्रिया अस्तव्यस्त हुन पुगेको बताए ।
जुनसुकै विषयमा बिना तथ्य बेनामे उजुरी पर्दा समस्या देखिएको उनको भनाइ छ । सांसद सरिता भुसालले मदरसा शिक्षालाई राज्यको मूलधारमा ल्याउनुपर्ने बताए । सरकारले तोकेको धानको समर्थन मूल्य किसानले नपाएको विषय उठाउनुहुँदै सांसद शान्ति चौधरीले सरकारले नै तत्काल किसानको धान खरिद गर्नुपर्ने बताए ।
सांसद सुनिता बरालले नेपालमा आउने पर्यटकमध्ये धेरैजसो पोखरा घुम्न आउने गरेको र त्यहाँ जानका लागि सहज यातायात सुविधा नरहेको विषय उठाइन् । त्यस्तै, हवाई टिकटको मूल्य बढेको विषयमा पनि उनले सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद सूर्यकुमारी श्रेष्ठले नेपालको जनशक्ति विदेशिनुमा कृषि क्षेत्रमा सुधार हुन नसक्नु मुख्य कारण रहेको बताइन् । बङ्गलादेशले कृषि क्रान्तिमार्फत् आर्थिक समृद्धि हासिल गरिरहेको उल्लेख गर्दै उनले नेपालले पनि कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर युवाशक्ति विदेश जानबाट रोक्नुपर्ने बताइन् ।
सांसद सोनु मुर्मुले इञ्जिनियरिङ अध्ययन संस्थानले शुल्क बढाएको विषय संसदमा उठाइन् । सांसद हरि ढकालले भूमिहीन र सुकुम्बासीका समस्याका विषय संसदमा उठाए । अहिले भ्रष्टाचार र घुसखोरीका घटना स्थानीय तहमा बढी देखिरहेको बताएँदै सांसद हेमराज राईले नागरिकले सुविधा पाउन सकस हुने गरेको उल्लेख गरे ।
सांसद हृदयराम थानीले सुर्खेत विमानस्थलको धावनमार्ग विस्तार आवश्यक रहेको विषय संसदमा उठाए । सांसद विद्या भट्टराईले वीर अस्पतालका दुई सय ३० जना डाक्टरलाई हटाउने निर्णय फिर्ता लिन संसदमार्फत् सरकारको ध्यानाकर्षण गरिन् । कोभिड-१९ महामारीका समयमा नियुक्त गरिएका ५० जना डाक्टर, एक सय ६२ नर्स, ११ प्रयोगशाला प्राविधिक र सात जना रेडियोलोजिस्टलाई असोज २१ गतेबाट काममा नआउनु भनेर निर्देशन दिएको विषय उनले उठाइन् । आर्थिक अवस्थालाई देखाएर वीर अस्पतालको स्वास्थ्य सेवा नै खल्बलिने गरी सरकारले यस्तो निर्णय लिन नहुने उनको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया