संसद्

विद्युत् विधेयक :सैद्धान्तिक छलफल सकियाे

इकागज |
असोज २१, २०८० आइतबार २०:४५ बजे

काठमाडौँ- प्रतिनिधिसभामा विद्युत् विधेयक, २०८० का सैद्धान्तिक पक्षमाथिको छलफल सकिएको छ । छलफलमा सहभागी सांसदहरूले ऊर्जा क्षेत्रको समग्र विकासका लागि प्रस्तुत विधेयकका सबै पक्षको समीक्षा गरी त्यसका कमजोरी  सुधार गर्न आवश्यक भएको बताए ।  

मुलुकको समग्र आर्थिक विकासको मेरुदण्डका रूपमा ऊर्जा क्षेत्रलाई लिइए पनि विधेयकले त्यसलाई पूर्ण रुपमा सम्बोधन गर्न नसकेको उल्लेख गर्दै उनीहरूले सरकारी, सार्वजनिक तथा निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै ऊर्जा क्षेत्रको विकास सहज हुने बताए । उनीहरूले आगामी ३० वर्षसम्म अर्को कानुन तर्जुमा गर्न नपर्ने गरी विधेयकलाई समृद्ध बनाउनुपर्नेमा जोड दिए । 


बिजुलीको आन्तरिक खपत बढाउन औद्योगिक वातावरण बनाउनुपर्ने उल्लेख गर्दै सांसदहरूले बिजुलीको विषयमा राम्रै बहस भए पनि पानीको उपयोगका बारेमा विधेयकले मौन रहेको टिप्पणी गरे । जलाशययुक्त ठूला आयोजना निर्माण गर्दा त्यहाँ जम्मा हुने पानीको उपयोगलाई विधेयकमा  प्रष्ट पार्न जरुरी रहेको उनीहरूको भनाइ थियो । 

विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूमा दिपकबहादुर सिंह, सुनिता बराल, जावेदा खातुन, श्यामकुमार घिमिरे, हेमराज राई, दुर्गा राई , तुजुलाल चौधरीलगायत सहभागी थिए ।  विधेयकमाथि सांसदले उठाएका प्रश्नको जवाफ  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले अर्को बैठकमा दिने कार्यक्रम छ ।  

प्रतिनिधिसभाको अर्को बैठक सोमबार अपराह्न ३ः ३० बजे बस्नेछ ।


Author

थप समाचार
x