प्रतिनिधिसभाको शून्य समय
इजरायलमा रहेका नेपालीहरूको तत्काल उद्धार गर्न सांसदहरूको माग
फाइल फाेटाे
काठमाडौँ– सोमबारको प्रतिनिधि सभाको बैठकमा इजरायलमा रहेका नेपालीहरूको तत्काल उद्धार गर्न सांसदहरूले माग गरेका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्ने अधिकांश सांसदहरूले इजरायलमा अलपत्र परेका नेपालीको तत्काल उद्धार सरकारको ध्यानाकर्षण गराएका हुन् ।
प्रतिनिधिसभा सदस्य अन्जनी श्रेष्ठले इजरायलमा अलपत्र नेपालीको यथाशिघ्र उद्धार गर्न माग गरिन् । ‘इजरायलको आक्रमणमा १० जना नेपालीको मृत्यु भइसकेको, कतिपय नेपालीहरू घाइते भइसकेको खबर कतिपय सम्पर्कविहीन भएको खबरले हामी मर्माहित छौँ,’ उनले भनिन्, ‘मृतक परिवारलाई कसरी मलहम पट्टी लगाउने ?’
उनले आक्रमणमा परि घाइते भएका र अलपत्र परेका नेपालीलाई तत्काल उद्धार गर्न सरकार र मन्त्रालयलाई अनुरोध गरिन् । सांसद अनिसा नेपाली र अब्दुल खानले इजरायलमा मृत्यु भएकाहरूको परिवारलाई समवेदना व्यक्त गर्दै अलपत्र भएकाहरूको उद्धार गर्न सरकारसँग माग गरे ।
सांसद अमनलाल मोदीले अलपत्रहरूको कूटनीतिक पहल गरी उद्धार गर्न माग गरे । अर्जुन नरसिंह केसीले इजरायलको आक्रमणमा परि अलपत्र परेका नेपालीको तुरुन्त उद्धार गर्न माग गरेका छन् ।
‘इजरायलमा सिक्दै कमाउमा गएका नेपालीको आक्रमणमा परि निधन भएको छ,’ उनले भने, ‘१० जना मृतकको शवलाई तुरुन्त काठमाडौँ ल्याउने काम होस् । धेरै जना नेपाल फर्किन अनुरोध गरिरहेका छन् । इजरायलमा रहेका नेपालीको यकिन गरि घाइते भएका स्वास्थ्य उपचारको व्यवस्था र नेपाल फर्काउनको निम्ति सरकारले तत्काल युद्ध स्तरमा काम गरोस् ।’
उनले त्यहाँको पछिल्लो अवस्था र विस्थापित नेपालीको संख्याबारे संसदमा जानकारी गराउन पनि सरकारलाई अनुरोध गरे । त्यस्तै सांसद असिम शाहले नेपाली आक्रमणमा पर्नुमा नेताहरू पनि उत्तिकै जिम्मेवार रहेको बताए ।
यस्तै सांसदहरू एकनाथ ढकाल, गीता बस्नेत, चित्रबहादुर केसी, जनार्दन शर्मालगायतका अधिकांश सांसदले नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया