संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे शीर्ष नेताहरूसँग छलफल गर्नुपर्छ : मन्त्री गुरुङ
काठमाडौँ– कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकको विषयमा शीर्ष नेताहरूसँग छलफल गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् ।
‘यसमा छलफल गरेर हामी अगाडि बढ्ने हो,’ उनले भने, ‘शीर्ष नेताहरूसँग पनि हामी छलफल गर्दै अगाडि बढ्ने हो । अप्ठ्यारो पर्यो भने सोध्ने न हो । अप्ठ्यारो पर्यो भने छोराछोरीले बा, आमालाई सोध्छन् नि त कहिलेकाहीँ । किन लजाउनुपर्यो ।’
समितिको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गरी समितिसमक्ष प्रतिवेदन पेस गर्न गठित उपसमितिले प्रतिवेदन पेस गरेको छ ।
मन्त्री गुरुङले विधेयक समितिले छलफल गरी पारित गर्नुपर्ने भन्दै अप्ठ्यारो परेको अवस्थामा दलका शीर्ष नेताहरूसँग छलफल गरेर अगाडि बढ्नुपर्ने बताए । शीर्ष नेताहरूसँग छलफल गरेता पनि निर्णय भने समितिको नै हुने उनको भनाइ थियो ।
मन्त्री गुरुङले तत्कालीन राज्य पक्ष र विद्रोहीबीचमा भएको वृहत् शान्ति सम्झौतालाई मध्यनजर गर्दै विधेयक पारित गर्नु पर्नेसमेत बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया