संसद्

सांसदहरूको आरोप : सरकारले दसैँमा सार्वजनिक यातायातमा सर्वसाधारण ठगिने क्रम रोक्न सकेन

इकागज |
कात्तिक १३, २०८० सोमबार १७:४९ बजे

काठमाडौँ- सरकारले दसैँका बेला सार्वजनिक यातायातमा सर्वसाधारण ठगिने क्रम रोक्न नसकेको सांसदहरूले आरोप लगाएका छन् ।​ सोमबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समिति बैठकमा बोल्दै सांसदहरूले यस्तो आरोप लगाएका हुन् ।

सांसदहरूले सरकारले विगतको जस्तो सार्वजनिक यातायातमा टिकट नै नपाउने समस्या हल गरेको भए पनि सर्वसाधारण ठगिने क्रम भने रोक्न नसकेको उल्लेख गरे । उनीहरूले यो वर्षको दसैँमा गाउँघरमा जाने यात्रुहरू सरकारले तोकेको भाडादरभन्दा ४ गुणा बढीले ठगिएको बताए । सरकारले यातायातका सवारी दुर्घटना हुन नदिएको दाबी गरे पनि पछिल्लो १५ दिनमा ११३४ वटा दुर्घटना र १०० जनाको ज्यान गएको र ७ सय जना घाइते भएको सांसदहरूकाे ​दाबी छ ।


समिति बैठकमा बोल्दै नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका सांसद प्रदीप पौडेलले यो पटकको दसैँमा सर्वसाधारण यात्रु चार गुणाले ठगिएको दाबी गरे । उनले सरकारले दसैँका बेला सार्वजनिक यातायातमा सर्वसाधारण ठगिने क्रम यो पटक पनि रोक्न नसकेको उल्लेख गरे । उनले दसैँमा सार्वजनिक यातायात सहज र व्यवस्थित भएको भन्ने सरकारको भनाई गलत रहेको बताए । उनले सडकहरूको दुरावस्था, यातायात व्यवसायीहरूको मनलाग्दी र सरकारको बेवास्ताका कारण यो वर्ष पनि दसैँको सार्वजनिक यातायात सहज र सुलभ हुन नसकेको उल्लेख गरे ।

उनले भने, ‘सर्वसाधारण यात्रु सार्वजनिक यातायातबाट भाडामा चार गुणाले ठगिएका छन् । यसको कयौं प्रमाण मसँग छ । सवारी भाडामा प्रायः सबै यात्रुहरू ठगिएका छन् । र पनि सरकार केही भएन भनिरहेको छ । खै ! बदमास एउटै यातायात व्यवसायीलाई कारबाही गर्नुभयो ? गर्न सक्नुभयो ?’

नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले दसैँको १५ दिनमा १ हजार १३४ वटा दुर्घटना र १०० जनाको ज्यान जाँदा समेत सरकारले दुर्घटना हुन नदिएको भन्दै दाबी गर्नु जायज नभएको बताए । उनले चाडपर्वको समयमा यातायात व्यवस्था सहज बनाउने र यात्रु ठगि रोक्न समितिले सरकारलाई दिएको निर्देशन पूर्ण रूपमा सरकारले पालना नगरेको आराेप लगाए । उनले यातायात मन्त्री ज्वालालाई प्रहरीको सूचना थाहा छ ? भन्दै पछिल्लो १५ दिनमा १ हजार १३४ वटा दुर्घटना र १०० जनाको ज्यान जाँदा समेत सरकारलाई जानकारी नहुनु दु:खद् भएको जिकिर गरे । पछिल्लो १५ दिनमा १ हजार १३४ वटा दुर्घटना र १०० जनाको ज्यान गएको र ७ सय जना घाइते हुनु सामान्य कुरा नभएको उन‍काे भनाइ छ ।

त्यस्तै, समिति बैठकमा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले सार्वजनिक यातायातमा यात्रुहरू ठगिनबाट रोक्नका लागि अनलाइन टिकट प्रणाली व्यवस्थित रूपमा लागू गर्न आवश्यक रहेको बताए । उनले सबै सार्वजनिक यातायातका सवारी साधनमा भाडादर सहज रूपमा हेर्न सक्ने प्रणालीको विकास गर्नसके ठगी नियन्त्रण गर्न सकिने उल्लेख गरे ।

समिति बैठकमा बोल्ने अधिकांश सांसदहरूले चाडपर्वमा सरकारले भनेजस्तो यातायात व्यवस्था सहज बनाउन नसकेको गुनासो गरे । त्यस्तै बैठकमा सांसदहरूले ठेक्का सम्झौता भएर निर्माण कार्य अगाडि बढेका र बन्न लागेका सडकहरू तत्काल सम्पन्न हुन नसक्नुको कारण समेत मन्त्रीसँग माग गरे ।

 


Author

थप समाचार
x