संसद्

माओवादीका सांसद विष्‍टले भनेः अरुण चौधरीलाई छाड्ने न्यायाधीश अपराधी हो, कारबाही गर्नुपर्छ

इकागज |
माघ २९, २०८० सोमबार ११:५१ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का राष्ट्रियसभा सदस्य नरबहादुर विष्टले न्यायाधीश यज्ञप्रसाद आचार्यलाई अपराधीको संज्ञा दिएका छन् । सोमबारको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यले अरुण चौधरीलाई दुई दिनमै छोड्न आदेश दिएको भन्दै न्यायाधीशमाथि भ्रष्टाचारी र अपराधीको आक्षेप लगाएका हुन्।

उनले आफूले छोड्न आदेश दिने न्यायाधीशको मुगु सरुवा गरेको प्रति असन्तुष्टि जनाउँदै मुगु नेपाल नै भएकाले अनैतिक काम गर्नेलाई न्यायपरिषद्ले कारबाही गर्नुपर्ने माग गरे।


उनले अपराधीलाई दण्ड दिनुपर्ने भन्दै सरुवाको सट्टा कारबाही गर्न माग गरे । उनले सरकारले थुप्रै राम्रा काम गर्दागर्दै पनि देशमा फेरि पनि भ्रष्टाचार र गरिबीले आक्रान्त बनाएको बताए।

उनले भने, ‘आज भ्रष्टाचारीलाई कारबाही गर्दै गर्दा न्यायालयले २ दिनमै छोड्ने प्रवृत्ति जुन छ। व्यवस्थापिका, न्यायपालिका, कार्यपालिकाको आफ्नै क्षेत्राधिकार छन् तर कार्यपालिकाले गरेका कामहरुलाई पनि हस्तक्षेप गर्ने जुन न्यायपालिकामा अवस्था छ। मैले आज न्युज सुनेँ। अरुण चौधरीलाई दुई दिनभित्रै छोड्ने न्यायाधीश मुगु सरुवा भयो रे। कारबाहीस्वरूप। मुगु भनेको नेपालमै हो । मुगुमै किन सरुवा गर्नुप¥यो । त्यो अनैतिक हो, भ्रष्टाचारी हो, त्यो अपराधीलाई दण्ड दिने ठाउँमा उसलाई न्यायपरिषद्ले कारबाही गर्नुपर्दथ्यो । सरुवा गरेर त त्यहाँ पनि त त्यस्तै गर्ला उसले। त्यसैले यो बिडम्वनाको कुरा हो।’

उनले सरकारको चाहेको जस्तो सुशासन गठबन्धन सरकारका कारण सम्भव हुन नसकेको उनको भनाइ थियो।

बाँसबारी  छाला जुत्ता कम्पनीको जग्गा हडपेको आरोपमा पक्राउ परेका अरुण कुमार चौधरीलाई म्याद थप्न आनाकानी गर्दै दुई दिनभित्र रिहा गर्न आदेश दिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको मुगुमा काज सरुवा भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आइतबार आचार्यलाई काठमाडौं जिल्ला अदालतबाट मुगु जिल्ला अदालतमा काज सरुवा गरेको बताइएको छ ।


Author

थप समाचार
x