सभामुखको छलफलको निष्कर्ष : अदालतबाट सही निकास होस्
काठमाडौँ : प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आयोजना गरेको सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्री तथा दलका प्रतिनिधिले विघटित प्रतिनिधि सभालाई सर्वोच्च अदालतले पुर्नस्थापना गर्नुपर्ने धारणा राखेका छन् । शुक्रबार सभामुख सापकोटाले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरू तथा पूर्वप्रधानमन्त्रीसँग पछिल्लो राजनीतिक अवस्थाको विषयमा छलफल गरेका थिए ।
छलफलका क्रममा नेताले राष्ट्रपति र प्रधानमन्त्रीले गैरसंवैधानिक रुपमा संसद्को विघटन गरेकाले सर्वोच्च अदालतले पुर्नस्थापना गर्नुपर्ने धारणा राखेका हुन् । नेताहरुले देशमा लोकतन्त्र धरापमा परेकाले लोकतन्त्रको रक्षा गर्नुपर्ने साझा धारणा व्यक्त गरे ।
बैठकमा सभामुख सापकोटालाई नेताहरूले दलहरुलाई घच्घच्याउने तथा लोकतन्त्रको रक्षाको निम्ति पहरेदारी गर्ने जिम्मा सभामुखको भएकाले त्यसै गर्न सुझाव दिए । त्यस्तै सभामुख सापकोटाले आफुले संविधानको अधिनमा रहेर काम गर्ने बताए । उनले संसद् विघटनको मुद्धा सर्वोच्च अदालतमा विचाराधिन रहेको अवस्थमा त्यहीँबाट सही निकास होस् भन्ने अपेक्षा गरेको प्रष्ट पारे ।
बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै जनता समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले बैठकमा लोकतन्त्र धरापमा परेको भन्दै साझा चिन्ता व्यक्त भएको बताए । उनले भने,‘राजनीतिक रुपमा लोकतन्त्र धरापमा परिराखेको छ । पटक–पटक संसद विघटनमार्फत् । त्यो बारे साझा चिन्ता व्यक्त भयो । कोरोना महामारीको यत्रो समस्या चर्केको छ । खोप लगायतको व्यवस्थापन हुन सकिरहेको छैन । यो विषयमा पनि हामी सबैको एउटै मत रह्यो ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दिपक बोहोराले समसामयिक विषयमा छलफल गर्ने भनिएकाले बैठकले निचोड केही ननिकालेको बताए । नेता बोहोराले राप्रपालाई सरकारमा जानको निम्ति निम्तो नआएको बताए । उनले भने,‘सरकारको निम्तो आएको छैन ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया