संसद्

बन्धक संसद्‌ : न कांग्रेस हच्किने, न सरकार सच्चिने

इकागज |
बैशाख २९, २०८१ शनिबार ९:४९ बजे

काठमाडौँ- संसद्‌को बजेट अधिवेशन शुक्रबारदेखि शुरु भएपनि यो अधिवेशन सहज रुपमा चल्ने संकेत भने देखिएन ।

संसद्‌ अधिवेशनको पहिलो दिन दुवै सदन राष्ट्र्रिय सभा र प्रतिनिधि सभा अवरुद्ध गरियो र बैठक सुचारु हुन सकेन । अब दुवै सदनको बैठक जेठ १ गतेका लागि तोकिएको छ । सो दिन राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।


पहिलो दिन दुवै सदनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरणमा प्रमाण देखिएको भन्दै संसदीय छानबिन समिति गठन नभएसम्म संसद्‌ चल्न नदिने अडान लियो ।

दुई पटक बसेको प्रतिनिधिसभामा कांग्रेसले उठेर विरोध मात्र गरेन नाराबाजी समेत गर्‍यो । कांग्रेसको अवरोधका बीच सभामुख देवराज घिमिरेले बैठक सञ्‍चालन गर्न खोजेपछि कांग्रेसले वेल घेराउ गर्दै नाराबाजी गरेको थियो । 

दोस्रो बैठकमा सभामुखले बैठक शुरु हुनासाथ गृहमन्त्री लामिछानेलाई बोल्न समय दिएपछि कांग्रेसका सांसद झन्‌ उत्तेजित बनेका थिए । उनीहरूले गृहमन्त्री लामिछानेलाई रोष्टममै जानबाट रोकेपछि उनले सम्बोधन भने गर्न पाएनन् । सभामुखले बैठक जसरी पनि सञ्‍चालन गर्न खोजेपछि संसद्‌मा अब भिडन्तको संकेत बुझ्न सकिन्छ ।

सरकारसँग कांग्रेसको माग बमोजिम संसदीय समिति गठन गर्ने विकल्प देखिँदैन । किनकी संसदीय समिति गठन गरेमा गृहमन्त्री लामिछानेले सरकार छाड्ने चेतावनी दिँदै आएका छन् । उनको दल रास्वपाले सरकार छाडेमा प्रचण्ड नेतृत्वको सरकार सिधै अल्पमतमा पर्ने हुनाले सरकारले संसदीय समिति गठन गर्ने सम्भावना तत्कालका लागि देखिँदैन ।

अर्कोतर्फ कांग्रेसले यो विषयलाई अब यतिकै नछाड्ने मुडमा देखिएको छ । अघिल्लो संसद्‌ अधिवेशनमा अलि सफ्ट रुपमा प्रस्तुत भएको कांग्रेसले यस अधिवेशनको पहिलो दिन नै कडा रुपमा प्रस्तुत भयो र अब नीति तथा कार्यक्रम वा बजेट भनेर यो विषयको टुंगो नलागेसम्म अर्थात कांग्रेसको भनाईमा संसदीय समिति गठन नभएसम्म संसद्‌ चलन नदिने स्पष्ट गरको छ ।

शुक्रबारको बैठकमा महामन्त्री गगन थापाले अब संसदीय समिति गठन नभएसम्म संसद्‌को काम कारबाहीमा सहयोग नगर्ने घोषणा गरेका थिए । साथै उनले गृहमन्त्री लामिछानेले आफैले निवेदन दिएर ऋण लिएको प्रमाण रहेको भन्दै एक अर्बभन्दा बढी ठगी भएको संसद्‌मा बताएका थिए ।

गगन थापाको सो दाबीलाई गृहमन्त्री लामिछानेले भने संसद्‌ बाहिर पत्रकारहरूसँग कुरा गर्दै चुनौती दिएका छन् । उनले गगन थापालाई सिधै चुनौती दिँदै आफुले निवेदन लिएर ऋण लिएको प्रमाण दिए राजनीति नै छाडिदिने बताएका हुन् ।

समग्रमा संसद्‌को बजेट अधिवेशनको पहिलो दिनले राम्रो संकेत गरेको छैन । सरकारले जबर्जस्ती गरेर अगाडि बढ्ने र प्रतिपक्ष आफ्नो अडानमा कायम रहने संकेत पहिलो दिनको संसद्‌ बैठकले गरेको छ । सत्ता पक्ष र विपक्षको यो राजनीतिक टकरावले सरकारको नीति तथा कार्यक्रम तथा जेठ १५ गते पेश गर्नैपर्ने बजेट प्रभावित हुनसक्ने सम्भावना देखिएको छ ।


Author

थप समाचार
x