संसद्

विश्वासको मत लिँदा सत्ता पक्षका तीन सांसद अनुपस्थित

इकागज |
जेठ ७, २०८१ सोमबार १४:४४ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले विश्वासको मत लिँदा सत्ता पक्षका तीन सांसद अनुपस्थित देखिएका छन् ।

मतदान प्रक्रियामा १५८ सांसदले भाग लिएकोमा विश्वासको मतको पक्षमा १५७ मत पाएका थिए भने विपक्षमा शून्य र तटस्थमा एक मत परेको थियो ।


प्रधानमन्त्रीले विश्वासको मत लिने दिनको संसद् बैठकमा सत्तारूढ दलका तीन जना सांसद अनुपस्थित भएका छन् । बैठकमा नेकपा एमालेका बसन्त नेम्वाङ, एकीकृत समाजवादीका प्रकाश ज्वाला र नागरिक उन्मुक्तिका गंगाराम थारु अनुपस्थित भएका हुन् । एमालेका सांसद नेम्वाङ दुई महिनादेखि बिरामी छन् भने अन्य दुई सांसदको बारेका संसद् सचिवालयलाई जानकारी नरहेको बताइएको छ ।

आजको विश्वासको मतका लागि एकीकृत समाजवादी र नाउपाले ह्वीप लगाएका थिएनन् ।

वर्तमान सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल सरकारबाट बाहिरिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन् ।

प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीका बीचमा विश्वासको मत लिइएको थियो । 


Author

थप समाचार
x