संसद्

गिरीबन्धुको फाइल खोल्ने तयारी भइरहेको छ : मनिष झा

इकागज |
जेठ २०, २०८१ आइतबार १५:१५ बजे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले गिरीबन्धुको फाइल खोल्ने तयारी भइरहेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद झाले आफ्नो पार्टी सरकारमा गएपछि टीकापुर, बाँसबारी जग्गा प्रकरणको छानबिन गरेको भन्दै भुटानी शरणार्थी प्रकरणको पुनः छानबिन गर्ने र गिरीबन्धुको पनि फाइल खोल्ने तयारी भइरहेको बताएका हुन् ।


उनले सहकारी प्रकरणमा आफूहरूले ससर्त छानबिन समिति बनाउन तयार रहेको जनाएको र त्यही आधारमा अहिले संसदीय छानबिन समिति बनेको धारणा राखे । आफूहरू प्रशस्तै विकल्प छाडेर देशका लागि केही गर्न राजनीतिमा होमिएको उनले बताए ।

सांसद झाले संसदमा बोल्ने क्रममा केही नेताहरूले परिवर्तनको क्रेडिट लिन खोजेको भन्दै राजनीतिमा सबै परिवर्तनको क्रेडिट लिने काम उचित नभएको जिकिर गरे ।

लामो समय संसद् अवरुद्ध हुँदा जनताका समस्याको उठान गर्न नपाइएको उल्लेख गर्दै उनले संसद् खुलेपछि निरन्तर जनताको पक्षमा आवाज उठाइने बताए । 


Author

थप समाचार
x