संसद्

अर्थमन्त्री पुनको जवाफ : विद्युतीय सवारी साधनमा लगाइएको कर व्यावहारिक छ

इकागज |
जेठ २२, २०८१ मंगलबार १७:६ बजे

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले विद्युतीय सवारी साधनमा लगाइएको कर व्यावहारिक रहेको स्पष्ट पारेका छन् ।

मंगलबार राष्ट्रियसभामा बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन र इन्धनको आयातको भन्सारबाट चालु आर्थिक वर्षमा कम्तीमा ४० अर्ब राजस्व गुमेको भन्दै विद्युतीय सवारी साधनको आयातमा १० प्रतिशत कर वृद्धि गर्ने निर्णय व्यावहारिक रहेको बताएका हुन् । उनले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारको नीति कायमै रहेको जानकारी दिए ।


जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न बजेटले उच्च प्राथमिकतामा दिएको भन्दै उनले कार्बन उत्सर्जन गर्ने वस्तुहरूमा हरित कर सुरु गरिएको बताए । उनले अतिकम विकसित मुलुकबाट विकसित मुलुकतर्फ नेपाल अघि बढिरहेको अवस्थामा अनुदान घट्दै जानु र ऋण बढ्दै जानु स्वाभाविक रहेको धारणा राखे ।

अर्थमन्त्री पुनले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न आलु प्याज र स्याउलगायतका फलफूलमा कर हटाइएको जानकारी दिँदै विदेशबाट आयात गर्ने वस्तुहरूमा कर कायमै रहेको बताए । उनले विगतका वर्षमा गरिएका आर्थिक सुधारका विषयलाई निरन्तरता दिएको र मुलुकभित्रै रोजगारीको सिर्जना गर्दै अर्थतन्त्रलाई मजबुत बनाइने उल्लेख गरे । निजी क्षेत्रलाई प्रवर्द्धन गर्ने गरी सरकारले नीतिहरू अघि बढाउने उनको भनाइ छ ।

बजेटअनुसार नै निजी क्षेत्रलाई प्रोत्साहन गर्ने गरी मौद्रिक नीति आउने उनले बताए । त्यस्तै अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको बजेट उत्पादनमुखी र वस्तुपरक रहेको दाबी समेत गरे ।


Author

थप समाचार
x