संसद्

राष्ट्रियसभामा सांसदको प्रश्न : सदनमा उठाएका विषयमा किन सुनुवाइ हुँदैन ?

इकागज |
जेठ २९, २०८१ मंगलबार १५:३८ बजे

काठमाडौँ- राष्ट्रियसभाका सांसदहरूले आफूहरूले बैठकमा उठाएका जनजीविकासम्बन्धी सवालमा सरकारले जवाफदेहिता नदेखाएको टिप्पणी गरेका छन् ।

सभाको आजको बैठकको शून्य समयमा सांसद कमला पन्तले भनिन्, 'हामी संसदमा जनजीविकाबारे बोल्छौं तर कुनै पनि विषयमा सरकारले सुनुवाइ गरेको जस्तो लाग्दैन ।' उनले सांसदले उठाएका विषयमा सातामा एक पटक भए पनि सरकारले जवाफ दिनुपर्ने माग गरिन् । 


सांसद कृष्णप्रसाद पौडेलले मौसमविद्हरूले यस वर्ष सरदरभन्दा बढी पानी पर्ने भनेर विश्लेषण गरेको र तराईमा बाढी र डुबानका कारण करिब १८ लाख मानिस प्रभावित हुनसक्ने अनुमान गरिएको बताए । साथै उनले बाढी पहिरोको उच्च जोखिममा भएका नागरिकलाई सरकारले सुसूचीत गरिएको भए पनि जनधनको क्षति न्यूनीकरण गर्ने योजना के छ ? भनी प्रश्न गरे ।

सांसद गोमादेवी तिमिल्सिना देशभर साना र ठूला गरी ५६ वटा विमानस्थल भए पनि १३ वटा अन्तर्राष्ट्रिय र क्षेत्रीय स्तरका रहेको तर विभिन्न जिल्लामा भएका १२ वटा विमानस्थल गौचरणमा परिणत भएको बताइन् । सांसद दुर्गा गुरुङले सुर्खेतको वीरेन्द्रनगरमा बत्ती भएपनि भोल्टेज नपुग्ने र धारामा पानी नआउने समस्या रहेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराइन् । 

सांसद नारायणदत्त मिश्रले नेपालमा मनसुन भित्रिसकेको उल्लेख गर्दै सुदूरपश्चिमका टीकापुर, भजनी र जोशीपुरमा सधैं बाढीको समस्या हुने गरेको तर्फ सरकारको ध्यानाकर्षण गराए । सांसद भुवनबहादुर सुनारले सरकारले कृषिलाई प्राथमिकता दिए पनि कति कृषि बाली र फलफूलहरू मौसमी मात्र रहेको भण्डारको समस्या रहेको अवगत गराउँदै शीत भण्डारलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरे ।

सांसद मदनकुमार शाह गरिमाले रुसी सेनामा नेपाली युवा भर्ना भएको र तीमध्ये कैयौंको मृत्यु भएको तथा केही बेपत्ता भएको विषयमा सरकारको ध्यानाकर्षण गराए ।

सांसद युवराज शर्माले नेपालमा सञ्चालित उद्योगहरूको बक्यौता रहेको विद्युत् महसुलका सम्बन्धमा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे ।
 


Author

थप समाचार
x