लगानीको वातावरण बनाउन सरकारलाई सांसदहरूले गराए ध्यानाकर्षण
काठमाडौँ- प्रतिनिधिसभा सांसदहरूले नेपालमा लगानीका लागि सहज वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमा विचार प्रस्तुत गर्दै उनीहरूले यस विषयमा जोड दिएका हुन् । नेपालमा लगानीका लागि सहज स्थिति नहुँदा लगानीकर्ता निरुत्साहित हुनुपरेको भन्दै उनीहरूले यसमा लागि सहजीकरण गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद देवेन्द्र पौडेलले लगानी सहजीकरण गर्न सुशासन, समृद्धि र समाजवादको दिशामा अगाडि बढ्न लगानी जरुरी रहेको बताए । यसको लागि कम्तीमा दश वर्षमा निश्चित लगानी गरेर रोजगारी सिर्जना गर्ने गरी उद्योग मन्त्रालयले काम गर्न जरुरी रहेको उनको भनाइ छ । वन क्षेत्रमा देखिने समस्यामा सहजीकरण, खानेपानी, बिजुली र जमिनको उचित प्रवर्द्धन गरेर लगानीकर्तालाई प्रोत्साहन गर्न उनले उद्योगमन्त्रीको ध्यानाकर्षण गराए ।
सांसद रमेश लेखकले लगानीका लागि अनुकूल वातावरण बनाउनुपर्नेमा जोड दिए । सांसद डा अमरेसकुमार सिंहले लगानी प्रक्रिया निष्पक्ष र सरल हुनुपर्ने बताए । राजनीतिक अवस्था र विचौलिया प्रवृत्तिका कारण लगानी प्रभावित भइरहेको उनको भनाइ थियो ।
लगानी सहजीकरणका सम्बन्धमा सांसद गणेश पराजुली, असिम साह, नागीना यादव, जुलीकुमारी महतो (महासेठ), निशा डाँगीलगायतले धारणा राखेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया