संसद्

संसद् कानुन बनाउने मात्र नभई राष्ट्र निर्माण गर्ने थलो हो : सभामुख घिमिरे

इकागज |
असार १६, २०८१ आइतबार १५:२ बजे

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद् कानुन बनाउने मात्र नभई राष्ट्र निर्माण गर्ने थलो भएको बताएका छन् । ६६औँ संसद् दिवसका अवसरमा पूर्वसांसद मञ्च नेपालको आयोजना तथा सङ्घीय संसद् सचिवालयको समन्वयमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले संविधान कार्यान्वयन र कानुन कार्यान्वयनका विषयमा सरोकारवाला निकायसँग छलफल गर्नुपर्नेमा जोड दिए । 

'कानुन बनाउने निकाय गम्भीर भएर सरोकारवालासँग बृहत् बहस र छलफल जरुरी छ,' सभामुख घिमिरेले भने । संसदमा सरकारले ल्याएका विधेयकलाई छलफल गरेर पारित गर्ने परिपाटी भएको उल्लेख गर्दै उनले आफैँले अध्ययन गरेर कानुन बनाउने काम सांसदले गर्नसकेमा महत्त्वपूर्ण हुने बताए ।


पूर्वसांसद मञ्चले समय समयमा आफ्ना महत्त्वपूर्ण धारणा सार्वजनिक गर्दै आएको र त्यो राज्यका लागि हितकर भएको सभामुख घिमिरेको भनाइ थियो । पहिलो संसददेखि अहिलेसम्म गरेका कामको महत्त्वपूर्ण सामग्रीको अभिलेखिकरण गर्ने काम गरिरहेको उनले जानकारी दिए ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाली जनताको भावनाको प्रतिनिधित्व गर्ने स्थान संसद् नै भएकाले जनतासँग निर्वाचनमा गरेका वाचा पूरा गर्न सधैं लाग्नुपर्नेमा जोड दिए । 

'संविधान कार्यान्वयन महत्त्वपूर्ण पक्ष हो, त्यसको कार्यान्वयन कानुनबाट हुन्छ,' उनले भने, 'कानुन बनाउने निकाय संसद् हो, सांसद पनि सधैं त्यतिकै गम्भीर हुनुपर्छ ।' सदनलाई गतिशील बनाउन सदा क्रियाशील हुनुपर्ने र त्यसका लागि सांसद र पूर्वसांसद दुवैको उत्तिकै योगदान रहने अध्यक्ष दाहालले बताए । 

उपसभामुख इन्दिरा रानाले सदनलाई प्रभावकारी बनाउन सांसद र पूर्वसांसद मिलेर विचारविमर्श गर्नुपर्ने तथा आवश्यक विज्ञ चाहिएमा पूर्वसांसदको ज्ञानको प्रयोग गर्नुपर्नेमा जोड दिइन् ।

राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले संसद्लाई व्यवस्थित र मर्यादित बनाउन सांसदहरूको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन गर्दै जनताको समृद्धिमा ध्यान दिन जरुरी रहेको बताइन् । उनले सङ्घीय संसद्ले बनाएका कानुन र व्यवस्थाको प्रभाव सातै प्रदेशसभामा पनि पर्ने स्पष्ट पारिन् । 

पूर्वसभामुख दमननाथ ढुङ्गानाले संसद्लाई प्रभावकारी बनाउन सबैभन्दा जिम्मेवार प्रधानमन्त्री र प्रमुख प्रतिपक्ष बन्नुपर्नेमा जोड दिँदै संविधानको पालना गरेर संसद्लाई सशक्त बनाउनुपर्ने बताए ।

पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संविधान कार्यान्वयन गराउने प्रमुख भूमिका संसद्को भएकाले कानुन निर्माणदेखि जनताका सवालमा ध्यान दिनुपर्ने बताए । पूर्वसभामुख तारानाथ रानाभाटले संसदमा आएपछि जनप्रतिनिधि र जनताका विषयमा ध्यान दिनुपर्ने तथा संसदीय गतिविधि राम्रो बनाउन प्रधानमन्त्री र प्रतिपक्षी दल अझ सशक्त बन्नुपर्ने सुझाव दिए ।

सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेको संसद्लाई व्यवस्थित र प्रभावकारी बनाउन पूर्वसांसद मञ्चको भूमिका महत्त्वपूर्ण भएको बताए । सङ्घीय संसद्को स्थापना २०१६ असार १६ गते भएको थियो । सोही दिनको स्मरणमा दिवस मनाउन थालिएको हो । आजै विश्व संसद् दिवस पनि रहेको छ । 

मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले राज्यलाई आवश्यक पर्ने सुझाव दिने तथा पूर्वसांसदको स्वास्थ्य उपचारमा ध्यान दिन आग्रह गरे । 


Author

थप समाचार
x