संसद्

राष्ट्रिय सभामा अर्थमन्त्रीको जवाफ : बजेट वितरणमुखी नभई उत्पादनमुखी रहेको छ

इकागज |
असार २१, २०८१ शुक्रबार १४:५७ बजे

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले बजेटको कार्यदिशा अर्थतन्त्रलाई थप चलायमान बनाउन निजी क्षेत्र समेतको मनोबल बढाउने रहेको बताएका छन् ।

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा ‘विनियोजन विधेयक, २०८१’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले बजेट वितरणमुखी नभई उत्पादनमुखी रहेको समेत बताए । आगामी बर्ष कृषि क्षेत्रमा लगानी दशक घोषणा गरी कृषि क्षेत्रको आधुनिकीकरण, व्यावसायिकीकरण तथा प्रविधिको प्रयोग गरी उत्पादन, भण्डारण, प्रशोधन एवं वितरणका समग्र चरणमा सुधार गर्दै उत्पादन तथा उत्पादकत्व बढाउने लक्ष्य रहेको उनले बताए ।


उनले कृषि क्षेत्रमा सरकारले उच्च महत्व र प्राथमिकता दिएको उल्लेख गरे । सरकार सबै भौगोलिक क्षेत्र, वर्ग समुदायको समानुपातिक र सन्तुलित विकास प्रति प्रतिवद्ध रहेको उनको भनाइ छ । उनले सबै निर्वाचन क्षेत्रमा समान विनियोजन नभएको हुनसक्ने भन्दै सरकारले कुनै दल वा नेता वा मन्त्रीको निर्वाचन क्षेत्र वा मन्त्रीका नजिकका व्यक्तिका लागि मात्रै बढी बजेट छुट्याइएको भन्ने सत्य नभएको बताए । उनले सरकारको प्राथमिकता सन्तुलित एवं समानुपातिक विकास गर्ने रहेको स्पष्ट पारे ।

उनले सरकारले गर्ने लगानी, प्रत्यक्ष वैदेशिक लगानीमा हुने थप वृद्धि र निजी क्षेत्रबाट परिचालन हुने लगानी समेतका कारण थप रोजगारीका अवसर सिर्जना भई विदेश पलायन हुने युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गरी युवालाई आकर्षण गर्ने नीति बजेटले लिएको पनि बताए ।


Author

थप समाचार
x