Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

संसद्

सिमल तालमा बससहित बेपत्ता भएका यात्रुहरुको खोजी गर्न सांसदहरूको माग

इकागज |
असार २८, २०८१ शुक्रबार १२:१२ बजे

फाइल फोटो

काठमाडौँ - प्रतिनिधिसभाका सांसदहरूले नारायणगढ–मुग्लिन सडक खण्डको सिमल तालमा बससहित बेपत्ता भएका यात्रुहरूको खोजी कार्यलाई तीव्रताका साथ अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकको आकस्मिक समयमा उनीहरुले नारायणगढ–मुग्लिन सडक खण्डको सिमल तालमा पहिरोले दुई वटा बस त्रिशूली नदीमा खसाएर करिब पाँच दर्जन यात्रु बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गर्दै खोजी कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका हुन् । साथै उनीहरुले मनसुन अवधिभर जोखिमयुक्त सडक खण्डमा रात्रीबस सञ्चालनमा रोक लगाउनुपर्ने जनाएका छन् ।


सांसद शंकर भण्डारीले भारी बर्षाका कारण तराइ क्षेत्रमा डडुवा र पहाडी क्षेत्रमा पहिरो जाने क्रम जारी रहेकाले सिंगो सदन एक भएर नेपाली नागरिकको जीवन रक्षाका लागि जुट्नुपर्ने बताए । उनले चितवनमा भएको घटनाप्रति दुख व्यक्त गर्दै खोजी कार्यलाई तीव्रता दिन आग्रह गरे । 

त्यस्तै सांसद प्रभु साहले नारायणगढ–मुग्लिन सडक खण्डमा बस बेपत्ता भएपछि सिंगो मुलुक स्तब्ध भएको बताए । । बस र यात्रुको अवस्था र उद्धारको कामका बारेमा सरकारले जवाफ दिनुपर्ने उनले बताए । उनले सो क्षेत्रमा हरेक बर्ष पहिरो जाँदा पनि राज्यले ध्यान नदिँदा यस बर्ष पनि दुखद घटना घटेको उल्लेख गरे । 

त्यस्तै सांसद अमेरशकुमार सिंहले मनसुनको अवस्थामा रात्री बस सञ्चालनमा रोक लगाएको भए अहिलेको घटना नहुने जिकिर गरे । 

त्यस्तै सांसद राजेन्द्र पाण्डेले सिमलतालमा बेपत्ता भएका यात्रुहरूको खोजी कार्य राम्रो सँग हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले भाद्र १५ सम्म रात्रीबस सञ्चालनमा रोक लगाउनुपर्ने बताए । 

त्यस्तै सांसदहरूले  देशका विभिन्न ठाउँमा बाढी, पहिरो र डुबानमा परी भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धारका लागि सरकारको ध्यानाकर्षण गराएका थिए । 


Author

थप समाचार
x