संसद्

प्रतिपक्षीमा बसेर गुण र दोषका आधारमा सरकारको मूल्यांकन गर्छौं : रवि लामिछाने

इकागज |
साउन ६, २०८१ आइतबार १७:९ बजे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ सरकारको प्रारम्भिक कदमले आफूहरूलाई झस्काएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको विश्वासको मतको छलफलका क्रममा लामिछानेले सरकार सुरु हुने बित्तिकै अनुसन्धान गरिरहेको विषयलाई प्रभाव पर्ने काम गरेको भन्दै यसले आफूहरूलाई झस्काएको बताएका हुन् ।


उनले मन्त्रिपरिषद् गठन गर्दा पनि विभिन्न प्रकरणमा नाम मुछिएकाहरूलाई पुरस्कार दिने काम भएको तर्क गरे । प्रधानमन्त्रीको राजनीतिक योगदान, राजनीतिक त्याग र बलिदानप्रति सम्मान रहेको भन्दै उनले त्यसलाई निराशातर्फ ढकेल्ने काम नगर्न सुझाव दिए ।

लामिछानेले प्रतिपक्षीमा बसेर गुण र दोषका आधारमा सरकारको मूल्याङ्कन गर्ने जिकिर गरे । उनले नेपालमा पटक पटक सत्ता समीकरण परिवर्तनको खेल भइरहेको भन्दै अहिले नै गाली गर्ने वा गाला मुसार्ने काम नगर्न प्रधानमन्त्रीलाई सुझाव दिए ।​

उनले मुलुकलाई निकास दिनका लागि कांग्रेस–एमालेको गठबन्धन अन्तिम विकल्प भनि रहँदा यो पनि असफल भए समाजमा के सन्देश जान्छ भन्ने हेक्का राख्न पनि आग्रह गरे । ठूला दलहरू मिल्दा सत्तापक्षको आवाज ठूलो हुने भए पनि आफूहरू विचारका आधारमा सक्षम प्रतिपक्षी बन्नका लागि तयार भएर बसेको उनको भनाइ छ । 


Author

थप समाचार
x