संसद्

मुलुक र जनताको चाहनाअनुसार संविधान संशोधन गर्नुपर्छ : सांसद महतो

इकागज |
साउन ६, २०८१ आइतबार १७:३७ बजे

काठमाडौँ- जनता समाजवादी पार्टीका नेता तथा सांसद वीरेन्द्रप्रसाद महतोले मुलुकमा भ्रष्टाचार र अनियमितताले जरो गाडेको र जनताले सहज रूपमा सेवा नपाउने अवस्था रहेकाले त्यसमा तत्काल सुधार जरुरी रहेको बताएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको छलफलमा माग लिँदै महतोले भ्रष्टाचारको जरो चौतर्फी रूपमा फैलिइरहेकाले त्यसलाई नियन्त्रणका लागि सबै राजनीतिक दल एक भएर अगाडि बढ्नुपर्ने बताए । 


उनले पार्टी र आफ्नो स्वार्थभन्दा माथि उठेर मुलुकको समस्या समाधानका लागि सबै पक्षको साझा सहमतिमा जोड दिए । मुलुक र जनताको चाहनाअनुसार संविधान संशोधन गर्नुपर्नेमा भन्दै उनले प्रधानमन्त्री ओलीले पछिल्ला दिनमा राखेको विचारको पक्षमा रहेको धारणा राखे । 

सांसद महतोले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने जानकारी दिँदै जनतालाई चाहिने न्यूनतम् आवश्यकता सम्बोधन गर्न सरकार कटिबद्ध हुने विश्वास व्यक्त गरे । सरकारले राम्रो काम गर्नेमा आफू र आफ्नो पार्टी आशावादी रहेको पनि नेता महतोले उल्लेख गरे ।


Author

थप समाचार
x