संसद्

प्रधानमन्त्रीबाट ऊत्तरगङ्गा जलविद्युत् आयोजनाको प्रगतिबारे सदनलाई जानकारी

इकागज |
साउन ७, २०८१ सोमबार १७:२ बजे

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले बागलुङको ऊत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाको प्रगतिबारे सदनलाई जानकारी गराएका छन् ।  प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा उनले उक्त आयोजना नेपाल विद्युत् प्राधिकरणको आयोजना विकास विभागअन्तर्गत रही सोही विभागबाट सम्भाव्यता अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कनको काम भएको बताए ।

प्रधानमन्त्री ओलीले हाल उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना ‘स्पेसल प्रपोज भेइकल’ को रुपमा विकास गर्न २०७४ सालमा उत्तरगङ्गा पावर कम्पनी लिमिटेडको स्थापना गरी कार्य अगाडि बढाइएको जानकारी दिए । हालसम्म आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको, वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भइसकेको, जग्गा अधिग्रहणका लागि प्रक्रिया अघि बढाइएको उनले उल्लेख गरे । 


प्रधानमन्त्री ओलीले विद्युत् उत्पादन अनुमतिपत्रको लागि विद्युत् विकास विभागमा आवेदन दिइसकिएको बताए । विद्युत् प्राधिकरण इञ्जिनियरिङ कम्पनीमार्फत् आयोजनाको सम्भाव्यता अध्ययनको अन्तिम प्रतिवेदन प्राप्त भएपछि निर्माण ढाँचा र लागत ढाँचा निर्क्यौल गरी आगामी चार वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको उनले जानकारी गराए ।

खानी तथा भूगर्भ विभागबाट अन्तर्राष्ट्रिय अटोमेटिक सङ्गठनको सहयोगमा भएको प्रारम्भिक अन्वेषणबाट मुस्ताङको लोमाङथान क्षेत्रमा उत्खननयोग्य गुणस्तर र परिमाणमा युरेनियमको खनिज भण्डार रहेको देखाएको प्रधानमन्त्री ओलीले संसद्मा जानकारी दिए ।

प्रधानमन्त्री ओलीले पानीजहाजको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक नेपाल सरकार, मन्त्रिपरिषदबाट गत असार २७ गते संसदमा पेस गर्ने प्रयोजनार्थ स्वीकृत भई संसद्मा पेस गर्ने प्रक्रियामा रहेकोसमेत जानकारी गराए ।


Author

थप समाचार
x