संसद्

गृहमन्त्री लेखकद्वारा विपदका घटनाबारे संसदमा जानकारी

यस वर्ष १४४ को मृत्यु, ४८ जना बेपत्ता

'सांसद वीरेन्द्र महतोले बिचौलियालाई घुस दिएको विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको छ'

इकागज |
साउन ८, २०८१ मंगलबार १५:११ बजे

काठमाडौँ- मनसुनजन्य विपद्का कारण यस वर्ष १ सय ४४ जनाको मृत्यु भएको छ भने ४८ जना बेपत्ता भएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री रमेश लेखकले यस वर्ष मनसुन भएको दिन जेठ २८ गतेदेखि हालसम्म प्राकृतिक प्रकोपका १ हजार ५ सय ९२ घटना घटेको र १ सय ४४ जनाको ज्यान गएको जानकारी दिएका हुन् ।


प्राकृतिक विपद्का कारण २ सय ३१ घरमा क्षति पुगेको, ४३ वटा पुल बगेको र ४ हजारभन्दा बढी परिवार विस्थापित हुने अवस्थामा पुगेको उनले जानकारी दिए ।

गृहमन्त्री लेखकले मृत्युमध्ये ४७ परिवारलाई राहत दिएको र बाँकी परिवारलाई राहत दिने क्रममा रहेको जानकारी दिए । उनले बेपत्ता भएका मानिस १० दिनभित्र फेला नपरे मृतकसरह राहत दिने सरकारको नीति रहेको उल्लेख गरे ।

त्यस्तै गृहमन्त्री लेखकले सर्लाहीमा पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या प्रकरणबारे अनुसन्धान जारी रहेको र शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिएको बताए । उनले छोराको प्रमाणपत्र प्रमाणित गर्न सांसद वीरेन्द्र महतोले बिचौलियालाई घुस दिएको विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको उल्लेख गरे ।

उनले घटनाको तत्काल छानबिन गर्न आवश्यक निर्देशन दिइसकिएको पनि बताए । 


Author

थप समाचार
x