संसद्

डिआइजी मनोज केसीको सरुवाबारे रास्वपाले संसदमा उठायो प्रश्न

इकागज |
साउन १३, २०८१ आइतबार १४:२९ बजे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्ने प्रहरी अधिकारीलाई सरुवा गरेको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकको आकस्मिक समयमा ढकालले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गरिरहेका मनोज केसीलाई सरुवा गरेको भन्दै आपत्ति जनाएका हुन् । अब्बल राष्ट्रसेवक कर्मचारी डिआइजी केसीलाई आफ्नो स्वार्थ नमिल्दा सरुवा गरिएको उनले आरोप लगाए । उनले वर्तमान सरकार गठन भएपछि मन्त्रिपरिषद् र प्रादेशिक मन्त्रीहरू नियुक्तिदेखि प्रहरी अधिकारीको सरुवासम्मको काम हेर्दा सरकारको उद्देश्यको श्रृंखला देखिन थालेको जिकिर गरे ।


ढकालले बेथितिका कुराहरूलाई सदनमा प्रस्तुत गर्दा नातिनातिनाको संज्ञा दिएको उनले बताए । आफूहरू अपुताली खाने नातिनातिना नभएको भन्दै उनले डिठ्ठा र काजीसावका रबैयाहरूलाई खबरदारी गर्ने अव्वल सक्षम र पढेलेखेका नातिनातिनाका भएको जिकिर गरे ।

ढकालले अपुताली खाने नातिनातिना नभएको बताएपछि एमाले सांसद दीपा शर्माले नियमापति जनाउँदै अपुताली शब्द रेकर्डबाट हटाउन माग गरिन् । उनले आक्रोशमा जे पनि आरोप लगाउन नमिल्ने उल्लेख गरिन् ।

त्यसपछि आफ्नो भनाइलाई निरन्तरता दिएका रास्वपा सांसद ढकालले राष्ट्र बैंकको मौद्रिक नीति हेर्दा नियामकहरूको चाबी अर्थ मन्त्रालयमा राख्ने र आफूले पायक पर्दा खोलिने गरेको देखिएको टिप्पणी गरे ।  


Author

थप समाचार
x