संसद्

संसदमा गणपुरक संख्या नपुगेपछि...

इकागज |
साउन १३, २०८१ आइतबार २०:१७ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव गणपुरक सङ्ख्या नपुगेपछि कार्यसूचीबाट हटाइएको छ । बैठकमा सांसदहरूले धारणा राखे लगत्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले जवाफ दिएकी थिइन् ।

आजको बैठकमा उक्त विधेयकमाथि सैद्धान्तिक छलफल चलेको थियो । छलफलमा सांसदहरूले उठाएको जिज्ञासाको जवाफमा मन्त्री भट्टराईले संविधानको भावनाअनुरुप विधेयक अगाडि बढाइएको बताउँदै समितिमा दफाबार छलफलका क्रममा विधेयकलाई परिस्कृत गर्न सकिने धारणा राखिन् ।


गणपुरक सङ्ख्या नपुग भएको भनी सांसद सन्तोष परियारले नियमापत्ति जनाएपछि सभामुख देवराज घिमिरेले तीन मिनेट घण्टी बजाई गणपुरक सङ्ख्या यकिन गर्न सचिवालयलाई निर्देशन दिए । गणपुरक सङ्ख्या गणना गर्दा कुनै पनि प्रस्ताव निर्णयार्थ पेस गर्न कुल ६९ हुनुपर्नेमा ६७ जना सांसद मात्रै उपस्थित रहेकाले सो प्रस्ताव कार्यसूचीबाट हटाइएको सभामुख घिमिरेले जानकारी दिए ।

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० राष्ट्रियसभामा उत्पत्ति भएको विधेयक हो ।

नेपालको संविधानको धारा ३५ मा रहेको स्वास्थ्यसम्बन्धी हकको संरक्षणको लागि आवश्यक पर्ने जनशक्ति स्वदेशमै उत्पादन गरी स्वास्थ्य सेवातर्फको पहुँच वृद्धि गर्ने उद्देश्यले यो विधेयक ल्याइएको हो ।

स्वास्थ्य विज्ञानका क्षेत्रमा गुणस्तरीय अध्ययन अध्यापनद्वारा मानवस्रोत विकास गरी सर्वसाधारण जनतालाई सहज, सुलभ र विशेषज्ञसहितको गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन तथा स्वास्थ्य विज्ञानको क्षेत्रमा अध्ययन, अनुसन्धान र नवप्रवर्तनको माध्यमले मुलुकको समृद्धिमा योगदान पुर्याउन चिकित्सा शिक्षातर्फ छुट्टै विश्वविद्यालय आवश्यक रहेको भन्दै यो विधेयक अघि बढाइएको हो ।

तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले यो विधेयक २०८० असोजमा राष्ट्रियसभामा दर्ता गरेका थिए ।

शोक प्रस्ताव पारित

प्रतिनिधिसभाको आजको बैठकले सिमलतालमा भएको दुई वटा बस दुर्घटना र सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको उक्त प्रस्तावलाई बैठकको सर्वसहमतिले पारित गरेको हो । 

बैठकले ती दुवै दुर्घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । उक्त घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । साथै बैठकले यस्ता प्रकृतिका दुर्घटना कम गर्नका लागि विशेष पहल गर्न र दुर्घटनापश्चातको प्रतिकार्यलाई चुस्त र दुरुस्त बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । 

प्रतिनिधिसभाको अर्को बैठक यही साउन १४ गते दिउँसो १ बजे बस्नेछ ।


Author

थप समाचार
x