संसद्

संघीय र प्रदेशसभा संचालनका अनुभव आदानप्रदानसम्बन्धी अन्तरक्रिया सुरू

इकागज |
मंसिर १२, २०७७ शुक्रबार १३:१८ बजे

काठमाडौं : संघीय संसद् र प्रदेश सभा सञ्चालन अनुभव आदान प्रदान एवं अन्तरक्रिया कार्यक्रम काठमाडौंमा सुरु भएको छ । संसद् सचिवालयको आयोजनामा संसद् भवन नयाँ बानेश्वरमा उक्त कार्यक्रम शुक्रबार बिहानबाट सुुरु भएको हो। 

कार्यक्रमको प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संयुक्त रुपमा उद्घाटन गरेका छन्। कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभामुख सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउनु पर्नेमा जोड दिए । प्राप्त उपलब्धिलाई कार्यान्वयन गर्ने, जनताको जीवनस्तरलाई माथि उठाउने कार्य गर्नुपर्ने उनको भनाइ छ । 


सभामुख सापकोटाले हामी चुनौती र अवसरको बीचमा रहेको चर्चा गर्दै यो बेला अवसर नै बढिरहेको बताए। ‘हामीले बढी भन्दा बढी अन्तरक्रिया आयोजना गर्नुपर्छ,’ उनले भने,‘संघीयताको औचित्य पुष्टि गर्ने काम हाम्रै हो ।’ 

सभामुख सापकोटाले संसद्का समितिहरु बढी सक्रिय हुनुपर्नेमा जोड दिए । उनले संसद अधिवेशन नचलेको अवस्थामा पनि समितिमा हुने व्यापक छलफलले जनमुखी कानुन निर्माण हुने धारणासमेत राखे ।  

कार्यक्रमको सुरुमा संघीय संसदका महासचिव डा.भरतराज गौतमले उपस्थित सबैलाई स्वागत गरेका थिए । कार्यक्रममा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयाल, संसद सचिवालयका सचिवहरु धु्रबप्रसाद घिमिरे र सुदर्शन खड्काको सहभागिता रहेको छ । 

अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेशका सभामुख, उपसभामुख र प्रदेश २ का उपसभामुख भर्चुअल माध्यमबाट सहभागी छन् भने अन्य प्रदेशका सभामुख उपसभामुख कार्यक्रममा उपस्थित छन्। आज दिनभरको अन्तरक्रियापछि भोलि कार्यक्रमको समीक्षा र निष्कर्ष प्रस्तुत गरेर कार्यक्रम समापन हुने छ । 


Author

थप समाचार
x