संसद्

अर्थतन्त्रका सूचक सकारात्मक देखिँदै गएका छन् : सांसद गैरे

इकागज |
साउन २१, २०८१ सोमबार १९:३३ बजे

काठमाडौँ- नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले वर्तमान सरकार गठन भएपछि मुलुकको अर्थतन्त्रका सूचक सकारात्मक देखिँदै गएका बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले संविधान कार्यान्वयनमा देखिएका कमी कमजोरीलाई सुधार गरेर जाने भनेर प्रमुख दुई दलबीच भएको सहमतिलाई पूर्णता दिन सकिए थप आशाको सञ्चार हुने बताएका हुन् । 

संविधान संशोधन कुनै पनि अर्थमा प्रतिगमन हुन नसक्ने तर्क गर्दै सांसद गैरेले यथास्थितिमा रहनुपर्छ, कुनै सुधार गर्नुहुन्न भन्ने मतलाई भने गलत मान्नुपर्ने उल्लेख गरे । उनले देशव्यापी रूपमा मनसुनका कारण सडक सञ्जालमा क्षति पुगेकाले त्यसको मर्मत सम्भारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए । सार्वजनिक सवारी साधनको सहज प्रबन्ध गर्न सकिए नजिकिँदो चाडपर्वमा नागरिकले सहज रूपमा यात्रा गर्न सक्ने वातावरण बन्ने उनको भनाइ थियो । 


दुग्ध किसानले मूल्य नपाएको, रासायनिक मल नपाएको अवस्था अन्त्य गरेर कृषि क्षेत्रलाई सबल र सक्षम बनाउनुपर्नेमा सांसद गैरेले जोड दिए । खाद्यान्न आयात गर्नुपर्ने अवस्था अन्त्य गर्न सबैको सार्थक पहल हुनुपर्ने र कृषि क्षेत्रको औद्योगिकरण गर्नुपर्ने उनको भनाइ थियो । सांसद गैरेले वैदेशिक रोजगारीको क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउँदै असुरक्षित रहेका देशमा पुनः कामदार पठाउन लागिएको भनेर सार्वजनिक भएका विषयको सत्य तथ्य के हो भन्दै प्रश्न गरे ।

मुलुकभित्र समस्याका रूपमा रहेको आर्थिक अनियमितता, भ्रष्टाचारको नियन्त्रणका लागि सरकारले कडा कदम चाल्नुपर्ने उनले बताए । प्रमुख प्रतिपक्षी दलले कोही कसैमाथि छानबिन नै गर्न पाइँदैन भनेर गरेको तर्क यथार्थसँग मिल्दो नभएको सांसद गैरेको धारणा थियो ।


Author

थप समाचार
x