संसद्

हवाई सुरक्षाको मापदण्ड कार्यान्वयन भए/नभएको छानबिन गरी नीतिगत सुधार गर्न सरकारलाई निर्देशन

इकागज |
साउन २४, २०८१ बिहीबार १५:३ बजे

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपालको हवाई सुरक्षाको मापदण्ड कार्यान्वयन भए/नभएको छानबिन गरी नीतिगत सुधार गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाका सम्बन्धमा छलफल गर्दै पछिल्लो समय निरन्तर हवाई दुर्घटना भइरहेको अवस्थामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सुरक्षा मापदण्ड कार्यान्वयन भए/नभएको १५ दिनभित्र छानबिन गरी आवश्यक सुधार गर्न सरकारलाई निर्देशन दिएको हो । हवाई सुरक्षा मापदण्ड कार्यान्वयनमा क्रममा कोही दोषी देखिए कारबाहीको सिफारिसमा विज्ञहरूको संलग्नतामा एक स्वतन्त्र छानबिन समिति गठन गर्न पर्यटन मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति राजकिशोर यादवले जानकारी दिए ।


बैठकले यसअघि भएका हवाई दुर्घटनापछि गठन भएका जाँचबुझ आयोगका प्रतिवेदनको अवस्थाको विवरण पेस गर्न पनि मन्त्रालयलाई निर्देशन दिएको छ ।

त्यस्तै बैठकले नेपालको हवाई उडान सुरक्षा सम्बन्धी छुट्टै नीति आवश्यक देखिएकाले उक्त नीति तर्जुमान गर्न सरकारलाई निर्देशन दिएको सभापति यादवले बताए ।

बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक छिटो सदनमा पेस गर्न पनि निर्देशन दिएको सभापति यादवले जानकारी दिए ।

बैठकमा पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको हवाई सुरक्षा अभिवृद्धिका लागि सरकार गम्भीर रहेको बताए । हवाई सुरक्षा मापदण्डमा तलमाथि गर्नेलाई आवश्यक अध्ययन गरी कारवाही गर्ने उनले बताए । त्यस्तै उनले उडान सुरक्षासम्बन्धी ऐन निर्माणका साथै विधेयकहरूलाई पनि छिट्टै अघि बढाउने जिकिर गरे ।

मन्त्री पाण्डेले समग्र उड्डयन क्षेत्रका समस्या समाधान गर्न कार्ययोजना निर्माणको तयारी गरिरहेको जानकारी दिए । हवाई सुरक्षाका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सुधारका उपाय खोजिने उनले बताए । 


Author

थप समाचार
x