संसद्

प्रधानमन्त्री ओलीलाई सुमनाको कटाक्ष : शिक्षामा राजनीति हुनुपर्छ भन्‍ने सेनापति को ?

इकागज |
भदौ ६, २०८१ बिहीबार १४:४८ बजे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि शिक्षामा राजनीति गरेको आरोप लगाएकी छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्व शिक्षामन्त्री समेत रहेकी श्रेष्ठले प्रधानमन्त्री ओलीले शिक्षामा राजनीति हुनुपर्ने वकालत गर्दै हिँडेको आरोप लगाएकी हुन् ।


उनले भनिन्, ‘शिक्षालयमा दल चाहिन्छ भनेर अहिले सेनापतिको रूपमा सबै ठाउँमा बोल्दै हिँड्ने सबै ठाउँमा दलगत हुनुपर्छ र राजनीति चाहिन्छ, शिक्षक र प्राध्यापकहरूले राजनीति गर्नुपर्छ भन्ने सेनापति को हुनुहुन्छ ? अहिलेका प्रधानमन्त्री । जरोमा पनि उही, टुप्पोमा पनि उही । यसमा प्रधानमन्त्रीज्यूको कार्यक्षमता भएन भनेर नभन्नुपर्ने कारण चाहिँ के छ ? बताइदिनुपर्यो । यो प्रश्नमा मैले सरकारको, कुलपति र प्रधानमन्त्रीज्यूको गम्भीर ध्यानाकर्षण गराएँ ।’

श्रेष्ठले त्रिविमा अहिले देखिएको विवादको विषयमा कटाक्ष गर्दै अहिले बुद्धिभन्दा बल ठूलो र बलभन्दा दल ठूलोजस्तो देखिएको टिप्पणी गरेकी छन् । साथै उनले अहिले विश्वविद्यालयमा देखिएको दृश्य दलीय राजनीतिकरणले निम्त्याएको दुर्दशा भएको बताएकी छन् ।

उनले रास्वपाले स्वास्थ्य, शिक्षा र प्रशासन राजनीतिमुक्त हुनुपर्नेमा स्पष्ट रहेको बताएकी छन् ।   


Author

थप समाचार
x