संसद्

प्रतिनिधि सभा बैठक

अवरुद्ध राजमार्ग दुई घण्टाभित्र सञ्‍चालन गरिने

इकागज |
भदौ ६, २०८१ बिहीबार १६:४४ बजे

फाइल तस्बिर

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वर्षाका कारण अवरुद्ध भएका राजमार्ग दुई घण्टाभित्र सञ्चालन गराउने गरी आवश्यक जनशक्ति परिचालन गरिने बताएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा आकस्मिक र शून्य समयमा सांसदहरूले सडक र भौतिक पूर्वाधारका विषयमा उठाउनुभएका प्रश्नको जवाफ दिने क्रममा उनले अवरुद्ध राजमार्ग दुई घण्टाभित्र सञ्चालन गरिने प्रतिबद्धता जनाए ।


भौतिक, पूर्वाधार र यातायातका विषयमा उठेका प्रश्नलाई उनले सकारात्मक सुझावका रुपमा लिएको बताउँदै वर्षातका कारण मन्त्रालयलाई काम गर्न केही कठिन भएको जानकारी गराए । 'अविरल वर्षासँगै आएको पहिरोले नागढुङ्गा खण्ड अवरुद्ध भएको थियो, उक्त पहिरो तत्काल पन्छाएर आवागमन नियमित सञ्चालन गर्न केही समस्या भयो । योबाहेक अन्य राष्ट्रिय राजमार्गमा भएको सडक अवरुद्ध दुई घण्टाभित्र हटाउन सफल भएका छौँ,' उनले भने ।

सभाको आजको बैठकमा अधिकांश सांसदले हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहाको दक्षिणी सिमानास्थित कमला नदीमा बन्दै गरेको पुल भासिएको अवस्थाबारे सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए । उक्त प्रश्नको जवाफ दिँदै मन्त्री दाहालले ठेकेदार र निर्माण व्यवसायीको बीमा विवादले पुनःनिर्माण रोकिएको जानकारी गराए । उनले यो समस्या समाधान गर्न सम्बन्धित पक्षसँग छलफल गरेर यथाशीघ्र निकासा ल्याउने प्रतिबद्धता जनाए । 

पुल निर्माणको मागसहित अनशनमा बसेका स्थानीयलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालले भने, 'अनशन बसेर समस्याको समाधान आउँदैन, सबै मिलेर छलफल गरौँ र समाधान निकालौँ ।' 

भौतिक मन्त्रालयमा फाइल थन्किएको छ भन्ने सांसदहरूको प्रश्नलाई मन्त्री दाहालले कर्मचारी व्यवस्थापन गरेसँगै कुनै पनि पुराना कामसम्बन्धी फाइल कार्यालयमा नरोकिने जानकारी दिए । उनले आगामी असोजसम्म भौतिक निर्माणसम्बन्धी सम्पूर्ण ठेक्काहरू लागू गरिसक्ने मन्त्रालयको लक्ष्य रहेको बताए । 'बर्खाको समय भएकाले केही काममा ढिलाइ र केही काम अवरुद्ध भएका छन्,' उनले भने, 'आगामी असोजसम्ममा सम्पूर्ण ठेक्काहरू सुरु गरिसक्छौँ ।'


Author

थप समाचार
x