संसद्

सङ्घीय संसद् भवन निर्माणलाई गति दिन सभामुखको आग्रह

इकागज |
भदौ २०, २०८१ बिहीबार २१:३० बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- सभामुख देवराज घिमिरेले निर्माणाधीन सङ्घीय संसद् भवन निर्माणलाई तीव्रता दिन निर्देशन दिएका छन् । सिंहदरबार परिसरमा निर्माणमा रहेको सङ्घीय संसद् भवनको आज स्थलगत निरीक्षण गर्नुहुँदै सभामुख घिमिरेले तोकिए अनुसार काम नभएको पाइएपछि गति दिन आग्रह गरेका हुन् ।

आगामी चैतको पहिलो साताभित्र सो भवनको निर्माण सम्पन्न गर्ने समयसीमा रहेको भए पनि अपेक्षित प्रगति नभएको पाइएपछि उहाँले निर्माण कार्यलाई गति दिनुपर्नेमा जोड दिए । भवन निर्माणका सम्बन्धमा कुनै समस्या वा जटिलता भए सरकारसँग समन्वय गर्न, कामलाई गति दिने गरी जनशक्ति थप गर्न सभामुखले ध्यानाकर्षण गराए ।


 त्यसैगरी अवसरमा उपसभामुख इन्दिरा राना मगर र सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकसहितको टोलीले भवनको समग्र अवस्थाबारे स्थलगत निरीक्षण गरी जानकारी लिएको थियो ।

कूल एक सय ५१ रोपनी क्षेत्रफलमा निर्माणाधीन संसद् भवनमा अत्याधुनिक सबै सुविधा उपलब्ध गराउने लक्ष्यका साथ काम भइरहेको भए पनि अपेक्षित प्रगति हुन नसकेको गुनासो छ । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले समग्र भवन निर्माणको बारेमा जानकारी गराउँदै गत असार मसान्तसम्म भौतिक प्रगति ८० प्रतिशत माथि पुगेको बताए ।

उनका अनुसार हाल भवनको छानाको काम पूरा भएको, विद्युत् जडान र अन्य काम भइरहेको रहेको छ । आगामी चैतको पहिलो सातासम्म भवन निर्माण सम्पन्न गर्न यसअघि नै सरकारले निर्माण व्यवसायीलाई आग्रह गरिसकेको छ । -रासस

 


Author

थप समाचार
x